तेहरान- इरानले विवादित विषयमा छलफल गर्न अमेरिका वा साउदी अरबको मध्यस्थता आवश्यक नरहेको जनाएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हालै पश्चिमा सञ्चारमाध्यममा आएका हल्लामा जस्तोे विवादित विषयहरूमा वार्ता गर्न संयुक्त राज्य अमेरिका वा साउदी अरब कसैको पनि सहारा खोजेको छैन, यी केवल भ्रामक समाचार मात्र हुन्।'
'साउदी अरबसँगको प्रसङ्गमा इरानले दुई मुलुकका प्रतिनिधिबीच हज यात्रीको व्यवस्थाबारेमा कुराकानी भएको र दुवै पक्षले उक्त विषयलाई दुईपक्षीय राजनीतिक विषयबाट अलग गर्ने सहमति जुटिसकेको छ', मौसवीले भनेका छन्, 'इरानको दृष्टिकोणमा साउदी अरब खाडी क्षेत्रको एक महत्वपूर्ण राष्ट्र हो तर उ विगत केही वर्षयता अरचनात्मक धारणासहित ‘गलत’ दिशामा अघि बढिरहेको छ। यसले यस क्षेत्रमा धेरै क्षति पुगेको छ जसका कारण समग्र अरब क्षेत्रमा सङ्कट देखिएको छ।'
साउदी अरबले यस क्षेत्र र जनताका लागि इमानदार र सद्धभावपूर्ण धारणासहित अघि बढ्नेमा समेत मौसवीले विश्वास प्रकट गरे।
उनले थपे, 'पक्कै पनि त्यो मुद्दामा इरानले साउदी अरबसँग एक क्षेत्रीय शक्तिका रूपमा आपसी समन्वयका लागि छलफल गर्न तयार रहनेछ।' रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।