काठमाडौं– विवादित अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन गर्न सघाउने बताएका छन्।
उनले पार्टी र राज्यका निकायले गर्ने छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएका हुन्।
एक महिलालाई अश्लील शब्द प्रयोग गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको आरोपसहितको अडियो सोमबार जनआस्थाले सार्वजनिक गरेको थियो। त्यसपछि रास्वपाले पनि यस विषयमा छानबिन अघि बढाएको छ।
पार्टीका महामन्त्री विपिन आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै छानबिन प्रक्रिया अघि बढाइएको र सुनारलाई सार्वजनिक पदमा रहेर औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको जानकारी दिएका थिए।
त्यसपछि फेसबुकमा भिडियो सार्वजनिक गर्दै सुनारले आफू जनताले उठाएका प्रश्नको जवाफ दिन तयार रहेको बताए। छानबिनका क्रममा केन्द्रीय समितिबाट निलम्बन हुनुपरे वा सांसद पदबाट निलम्बित हुनुपरे पनि स्वीकार गर्ने उनको भनाइ छ।
‘राज्यले गरेको, पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु,’ उनले भनेका छन्।
सुनारले आफूले कानुनविपरीत काम गरेको प्रमाणित भए कारबाही भोग्न तयार रहेको पनि बताएका छन्। ‘मैले भगवानको आँखामा हुने कुनै पाप र कानुनको आँखामा हुने कुनै अपराध गरेको छु भने अहिले यही दाङबाट हतकडी लाएर जान मलाई कुनै आपत्ति छैन,’ उनले भने।
यद्यपि, उनले सार्वजनिक भएको अडियोलाई बनावटी भएको दाबी गरेका छन्। प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको आरोपसमेत उनले लगाएका छन्।
बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनार हाल पार्टीको कामको सिलसिलामा दाङमा रहेको जनाइएको छ। अडियोमा लगाइएका आरोपबारे छानबिनको निष्कर्ष भने सार्वजनिक भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।