दुनै– आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पामा सम्पूर्ण व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका सरोकारवाला पक्षलाई तालीम दिने काम सम्पन्न हुनाका साथै कर्मचारी, सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रततर्फ जान थालिसकेको र स्वयंसेवकले समेत गाउँगाउँमा पुगेर मतदाता शिक्षा दिइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
‘जिल्लाको उत्तरी क्षेत्रमा रहेको विभिन्न मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मतपेटीका, मतपत्र, मतदाता परिचयपत्रलगायतका निर्वाचन सामग्री वितरण गर्ने काम भइरहेको र डोल्पाको उपल्लो क्षेत्रमा खटिएका कर्मचारी धमाधम त्यसतर्फ जान थालेका छन्,’ निर्वाचन अधिकारी विक्रम गिरीले भने।
उनले सदरमुकामदेखि ५–६ दिन लाग्ने तिन्जे, मुकोट, साल्दाङ, छार्का, धोलगायतका साविकका गाविसमा पर्ने मतदान केन्द्रमा खटिएका कर्मचारीलाई भने सेनाको हेलिकप्टरबाट लैजाने व्यवस्था गरिएको र तल्लो डोल्पाका मतदान केन्द्रका लागि पनि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीलगायतका कर्मचारी हिँड्ने तयारीमा रहेको बताए।
आसन्न निवार्चनमा जिल्लाभरका ६६ मतदान केन्द्रका लागि ४३० कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयले जनाएकोे छ। डोल्पामा १८ हजार ९ सय ८९ मतदाता छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।