काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार कार्यकर्ता कपिलवस्तुबाट पक्राउ परेका छन्।
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहल पहल बढ्दै गएको बेला निर्वाचन विरोधी गतिविधिमा संग्लन हुन सक्ने भन्दै प्रहरीले चार जनालाई कार्यकर्तालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
जिल्लाको शिवराज गाउँपालिकाबाट तीन र महाराजगञ्जमा एक गरी चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन। निर्वाचन विरोधी गतिविधिमा संलग्न र निर्वाचन बिथोल्ने गतिविधि सम्बन्धि योजना बनाइरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए।
यस्तै काभ्रेबाट पनि विप्लवका कार्यकर्ता पक्राउ परेका छन्।
उनीहरुलाई पार्टीका विभिन्न काममा संलग्न भएको अवस्थामा जिल्लाको चौंरी देउराली गाउँपालिकाका डिल्लीप्रसाद दुलाल, भीमसेन गौतम र बनेपा–१ का रामकुमार तामाङलाई पक्राउ गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए। चुनावलाई लक्षित गरी प्रहरीले उनीहरुमाथि निगरानी बढाउँदै आएको थियो। तीनै जना जिल्लास्तरीय कार्यकर्ता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।