अवुजा, नाइजेरिया- उत्तरपूर्वी नाइजेरियाली सहर मुवीमा रहेको एक मस्जिदमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको यहाँको प्रहरीले जनाएको छ।
एक पहिचान खुल्न नसकेको किशोरले उत्तरी राज्य आदामावामा विस्फोट गराएको प्रहरी प्रवक्ता ओथमान अबुवाकरले बताए।
'मंगलबार साँझसम्मको रिपोर्ट अनुसार आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ भने घटनामा घाइतेहरूको सङ्ख्याको पनि एकीन विवरण लिने प्रयास भइरहेको छ,' उनले भने।
बिहान प्रार्थनाको समयमा मानिसहरु मस्जिदमा भेला भएका बेला आक्रमणकारीले बम पड्काएका थिए। फ्रान्सको राज्य सञ्चालित समाचार संस्था (एएफपी) लाई एक जना प्रत्यक्षदर्शीले आक्रमणकारी पनि प्रार्थना गर्नेहरुकै समूहमा रहेको बताएका छन्।
नाइजेरियामा बोको हरामले ८ वर्षयता चलाएको सशस्त्र द्वन्द्वमा २० हजार जति मानिसको ज्यान गइसकेको छ भने करिब २३ लाख मानिस विस्थापित बनेका छन्। भिडभाड बढी हुने क्षेत्रलाई इस्लामवादी लडाकू समूह बोको हरामले लक्षित गर्दै आएको छ।
बोको हरामको कब्जामा रहेका केही क्षेत्र सेनाले पुनः नियन्त्रणमा लिएपछि उक्त समूहले आत्मघाती हमला बढाएको हुनसक्ने अनुमान स्थानीय सञ्चारमाध्यमले बताएका छन्।रासस/सिन्ह्वा/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।