हरारे– जिम्बाबेको सत्ताधारी दल जानु–पिएफले राष्ट्रपति रबर्ट मुगाबे विरुद्ध महाभियोग लगाउने भएको छ।
महाभियोगको प्रक्रिया अघि बढाउन पार्टीले मंगलबार आफ्ना सांसदको बैठक बोलाएको छ।
९३ वर्षीय राष्ट्रपति मुगाबेले पत्नी ग्रेस मुगाबेलाई राष्ट्रपतिको उत्तराधिकारी बनाउन संवैधानिक अधिकार उल्लंघन गरेको आरोप लगाउँदै बर्खास्त गर्न महाभियोग लगाइएको हो।
यसअघि सत्ताधारी दल जानु–पिएफले उनलाई सम्मानजनक बहिर्गमनको उपायस्वरुप सोमबार दिउँसोसम्म पदबाट राजीनामा दिन समय दिएको थियो। साथै, पार्टीले मुगाबेलाई दलको नेताबाट बर्खास्त गरी पूर्वउपराष्ट्रपति इमर्सन मनंगावालाई दलको नेता नियुक्त गरेको थियो।
तर, मुगाबेले टेलिभिजनबाट राष्ट्रका नाममा गरेको सम्बोधनमा अझै पनि आफू नै वैधानिक राष्ट्रपति भएको भन्दै राजीनामा नदिने घोषणा गरेका थिए। सो सम्बोधनपछि जानु–पिएफले उनलाई बर्खास्त गर्ने प्रक्रिया थाल्ने जनाएको थियो।
पार्टीले महाभियोग प्रस्ताव मंगलबार नै बस्ने संसद् बैठकमा पेस गर्ने तयारी गरेको छ।
यसैबीच पूर्वउपराष्ट्रपति मनंगावाले मुगाबेलाई तत्काल पदबाट राजीनामा गर्न आग्रह गरेका छन्। यसअघि सेनाको बर्खास्तगीमा परेका मंगावाले अज्ञात स्थलबाट बोल्दै राष्ट्रपति मुगाबेलाई पद छाड्न देशवासीले गरिरहेको माग सुन्न आग्रह गरे ।
सेनाले मनंगावालाई बर्खास्त गरेपछि त्यहाँको राष्ट्रिय टेलिभिजन नियन्त्रणमा लिनुका साथै मुगाबेलाई उनकै निवासमा नजरबन्द गरेको थियो।
मनंगावाले आफ्नो हत्या गर्ने योजना बनेको थाहा पाएर दुई साताअघि देशबाट भागेको पनि बताए। आफ्नो सुरक्षा सुनिश्चित भएपछि मात्र स्वदेश फर्केको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।