काठमाडौंं- भारतको पुणेमा आयोजना हुने मोडलहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘द फेस अफ साउथ एसिया’मा नेपालको प्रतिनधित्व गर्दै ९ मोडल सहभागी भएका छन्।
बिहीबार अर्थात् २५ अप्रिलबाट २७ अप्रिलसम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली मोडलहरु बुधबार साँझ भारत प्रस्थान गरेका हुन्। ‘द फेस अफ साउथ एसिया’ एसियाको फेसन जगतकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता मध्येको एक हो।
प्रतियाोगितामा नेपालका तर्फबाट 'मोडल हन्ट नेपाल २०१८' का विजेता आशिष केसी, मोडल हन्टमा सहभागीहरु मसिष सुवेदी, पोषण शर्मा, शासोत शाही, राघव अग्रवाल, रुविष्का श्रेष्ठ, निर्मला न्यौपाने, थिन्ले ल्हामो र सुष्मिता थापा सहभागी भएका हुन्।
कार्यक्रममा नेपाल, भारत, श्रीलंका लगायत एसियाकै उत्कृष्ट मोडलहरुको प्रतिस्पर्धा रहने छ। जसमा हरेक देशबाट सहभागीमध्ये एकलाई राष्ट्रको नाम जोडेर ‘फेस अफ द कन्ट्री’ घोषणा गर्ने गरिन्छ।
प्रतियोगिताबाट छानिएका उत्कृष्ट एक महिला र एक पुरुष मोडलले कोरियामा आयोजना हुने ‘एसिया मोडल फेस्टिवल’मा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
नेपालको प्रतिनिधित्व गरेका नेपाली सहभागीले नेपाली कला संस्कृति र भेषभुषा झल्कने पहिरन तथा नेपालीपनका प्रस्तुतिहरु दिने तयारी रहेको 'नेक्स्ट मोडल्स नेपाल'का सिइयो रवि धमलाले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिका साथ नेपालको नाम उच्च राख्दै प्रतियोगितको उपाधि नेपाल भित्र्याउने उद्देश्यसहित आफूहरु भारत गएको प्रतियोगीहरुको भनाइ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।