काठमाडौं– श्रमिक र न्यून आयका कामदारको नाममा कम्पनी खोल्दै नक्कली बिल निर्माण गर्ने भारतीय नागरिकसहित तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज विशेष अदालतमा मधुकुमारी चौधरी, उनका पति भारतीय नागरिक विनोदकुमार गुप्ता र अर्का भारतीय नागरिक वीरेन्द्र महतोविरुद्ध मनि लाउन्डरिङ गरेको भन्दै मुद्दा दायर गरेको हो।
विभागले उनीहरु विरुद्ध २२ करोड ९५ लाख रुपैयाँ बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा हदैसम्मको सजाय माग गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
हिमालयन कार्गो नेपाल सञ्चालक उनीहरुले आर्थिक वर्ष २०६५/६६ देखि २०७४/७५ सम्म राजस्व चुहावट गरी चौधरीको नाममा विभिन्न सम्पत्ति जोडेको विभागको आरोपपत्रमा उल्लेख छ। राजस्व अनुसन्धान विभागले उनीहरु विरुद्ध अनुसन्धान गरी राजस्व ठगीमा यसअघि जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
विभागले थप अनुसन्धान गर्नका लागि उनीहरुलाई सम्पत्ति शुद्धीकरण विभागमा पठाएको थियो।
विभागको सोही अनुसन्धानको आधारमा उनीहरु विरुद्ध २३ करोड ९५ लाख ६८ हजार १३१ रुपैयाँ गैरकानुनी स्रोतको रकम सम्पत्ति शुद्धीकरण गरेको अभियोग विशेष अदालतमा दायर भएको हो।
उनीहरुले आफ्ना फर्मका कर्मचारीको नाममा समेत बैंक खाता खोली उनीहरुको नाममा १० करोड १० लाख रुपैयाँ जम्मा गरेको पनि राजस्व अनुसन्धान विभागले पाएको थियो।
उनीहरुले काठमाडौं र भक्तपुर विभिन्न स्थानहरुमा २०६५ सालपछिको अवधिमा ८ करोड ३० लाख रुपैयाँको घरजग्गामा लगानी गरेको, मधुकुमारी चौधरी एकल सञ्चालक रहेको मंगला रियलस्टेट प्रालिमा २ करोड र अर्को एप्पल पोलिमर्स प्रालिमा २ करोड ५० लाख रुपैयाँ लगानी गरेको विभागको आरोपपत्रमा उल्लेख छ।
यसैगरी उनकै नाममा विभिन्न बैँक तथा वित्तीय संस्थामा ४ लाख ९७ रुपैयाँ लगानी गरेको आरोपपत्रमा उल्लेख छ।
यो पनि : भ्याट छलीको नयाँ शैली, यी हुन् २४ कम्पनी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।