नेपालगन्ज : प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपाल आर्मी पहिलो भएको छ।
बुधबार सम्पन्न प्रतियोगितामा आर्मी १४० स्वर्ण ८२ रजत ६७ कास्य सहित कुल २ सय ८८ पदकसहित पहिलो भयो। दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ६२ स्वर्ण, ४९ रजत र ४६ कास्य पदकसहित कुल १५७ पदक जितेको छ।
तेस्रो भएको सशस्त्र प्रहरीको एपिएफ क्लबले ५४ स्वर्ण, ६९ रजत र ८० कास्यसहित कुल २ सय ३ पदक जितेको ।
चौथो स्थानको प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कास्य पदक गरी १२२ पदक हात पारेको छ। पाँचौमा रहेको गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४४ कास्यसहित ७७ पदक जित्दा छैटौँमा रहेको प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ कास्यसहित ८५ पदक जितेको छ।
सातौँ स्थानको प्रदेशले १ ले ९ स्वर्ण, २० रजत र ५९ कास्यसहित ८८ पदक जितेको छ भने आठौँ स्थानको सुदूरपश्चिमले ले ८ स्वर्ण, १२ रजत र ३४ कास्यसहित ५४ पदक जितेको छ। नवौँ स्थानको प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र २० कास्यसहित ३३ पदक जित्दा दशौँ स्थानको गैरआवासीय नेपाली सङ्घ एनआरएनएले ६ स्वर्ण, २ रजत र ५ कास्यसहित १३ पदक जित्यो। एघारौं स्थानको कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत र १७ कास्यसहित ३४ पदक जितेको छ।
प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि पाँच जहार २११ खेलाडी प्रतिष्पर्धामा सहभागी रहेका छन्। प्रत्येक दुई÷दुई वर्षको अन्तराल गर्ने लक्ष्यसहित २०३८ सालमा शुरु भएको राष्ट्रिय खेलकुदको शुरुका तीन संस्करण बाहेक कुनैपनि राष्ट्रिय खेलकुद दुई वर्षको अवधिमा हुन सकेको छैन।
वैशाख ५ गते औपचारिक उद्घाटन भएको प्रतियोगिताका खेलहरू भने चैत २७ गतेदेखि नै सुरु भएका थिए। प्रतियोगिताका खेलहरू बाँकेमा १७, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेलहरू आयोजना भएका छन्। बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल जारी छ भने दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल भए।
त्यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लनटेनिस, तेक्वान्दोका खेल आयोजना भएका छन्। बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रो, ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता जारी छ। प्रतियोगितामा प्रदेश १, प्रदेश २, प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गैरआवासीय नेपाली सङ्घले सहभागिता जनाएका छन्।
प्रतियोगितामा फुटबल, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबल टेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो खो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डवल, बुद्धिचाल, सफ्टटेनिस, आइ।टिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराते र हक्की खेल सहभागी गराइयो।
अब नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना हुनेछ। बुधबार नेपालगन्ज रंगशालामा आयोजित समापन समारोहमा गण्डकी प्रदेशलाई झन्डा हस्तान्तरण गरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।