राजविराज– सप्तरीका पुस्तक व्यवसायीहरूले सिण्डिकेट खडा गरेर विद्यार्थी र अभिभावक ठगी गरेको विषय चर्चामा आएपछि जिल्ला स्तरीय अनुगमन टोलीले मंगलबार पुस्तक महलाको अनुगमन गरेको छ।
पुस्तक महलले निजी विद्यालयको मिलेमतोमा सुरु गरेको सिण्डिकेटका कारण अभिभावक र विद्यार्थी मारमा परेको गुनासोपछि टोलीले अनुगमन गरेको हो।
अनुगमनका क्रममा महल दर्ता नै नगरी सञ्चालनमा ल्याइएको पाइएको छ। सञ्चालकले राजविराज नगरपालिकामा पसल दर्ता गरेको दाबी गरेपनि आधिकारिक कागज पत्र समेत फेला नपरेको टोली संयोजक नगरपालिकाका अधिकृत मनोजकुमार यादवले बताए।
यादवका अनुसार ६० लाखसम्म कारोबार गर्ने खुद्रा पसलले नगरपालिकाबाट अनुगमति लिनुपर्ने व्यवस्था छ। तर, ६० लाख माथिका पसलले घरेलु तथा साना उद्योग कार्यालयमा पनि दर्ता गर्नुपर्ने कानुनी प्रक्रिया रहेको बताउँदै करिब १ करोडभन्दा माथिको लगानी रहेको पसल दर्ता नभएको घरेलु कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोषकुमार साहले बताए।
पसल सञ्चालकलाई सम्पूर्ण कागजपत्रसहित बुधबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन बोलाइएको छ। कानुनी प्रक्रिया विपरीत पसल सञ्चालन गरिएको पाइए तत्काल कारबाही गरिने संयोजक यादवले बताए।
टोलीमा घरेलुका नायव सुब्बा रवीन्द्र बुढाथोकी, प्रशासन कार्यालयका नासु ओमप्रसाद पौडेल, पुस्तक व्यवसायी महासंघ सप्तरीका अध्यक्ष शिवनारायण साहलगायतको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।