धनगढी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी बजेटमा सुदूरपश्चिमका २ लोकमार्गका लागि पर्याप्त बजेट विनियोजन हुने बताएका छन्।
प्रतिनिधिसभाको अर्थ समितिले सोमबार धनगढीमा आयोजना गरेको 'पूर्वबजेट छलफल' कार्यक्रम नेता पाण्डेले धनगढी–दिपायल द्रूत मार्ग र बर्दगोरिया लोकमार्गका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त रकम विनियोजन गरिने बताए।
पत्रकारहरूसंग कुरा गर्दै उनले संघको मातहत रहेका बर्दगोरिया लोकमार्ग र धनगढी–दिपायल द्रूत मार्गका लागि बजेट विनियोजन गर्न पहल भइरहेको बताए।
'यी सडकलाई प्रदेशको मातहत राख्ने वा संघमा? भन्ने विषयमा निर्णय हुन नसक्दा यी सडकका लागि चालू आर्थिक वर्षको बजेटमा रकम विनियोजन भएको छैन,' पूर्व अर्थमन्त्री पाण्डेले भने, 'यी लोकमार्गहरूमा पर्याप्त बजेट पार्नको लागि सम्बन्धित क्षेत्रमा सांसद् तथा स्थानीयको अग्रसरता आवश्यक छ।
पूर्व अर्थमन्त्री पाण्डेले भएको पैसा भएपनि खर्च हुन नसक्दा समस्या भएको बताए। उनले पुँजीगत खर्च १० प्रतिशत मात्रै हुन समस्याको मुख्य कारण भएको बताए। साना टुक्रे योजनाहरूको बजेट मात्रै खर्च भइरहेको र रणनीतिक योजनाहरू खर्च हुन नसकेकोले परिणामशून्य भएको उनको भनाइ थियो।
आगामी वर्षको बजेटका लागि सुझाब संकलन
प्रतिनिधिसभाको अर्थ समितिले आर्थिक वर्ष २०७६/०७७ को बजेटका लागि सुदूररपश्चिम प्रदेशका सरोकारवालाहरूसँग सुझाव संकलन गरेको छ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, प्रदेश सभा सदस्य लगायतको उपस्थितिमा सुझाब संकलन गरेको छ। बजेट सुझाब संकलन उपसमिति संयोजक पर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको संयोजकत्वमा सो कार्यक्रम भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।