काठमाडौं– नेपाल र विश्व बैंकबीच नवीकरणीय उर्जा सम्बन्धी सहकार्यका लागि एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
आज एक कार्यक्रमका बीच नेपालका तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका तर्फबाट कन्ट्री मेनेजर विज्ञान प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुसार अबको ४ वर्षभित्र उक्त आयोजनाले ग्रामीण भेगका १ लाख ६० हजार जनसंख्यामा नवीकरणीय उर्जा उपलब्ध गराउनेछ भने केन्द्रीय प्रशारण लाइन नपुगेका ठाउँमा विद्युतीकरण गर्नेछ।
३ दशमलब मेगावाट विद्युत उत्पादनका लागि सोलार प्यानल तथा अन्य वैकल्पिक उर्जाको श्रोतहरूमा यो अयोजनाले लगानी गर्नेछ भने स–साना प्रशारण लाइन निर्माणलाई पनि प्राथमिकतामा राखेको छ।
आयोजना वैकल्पिक उर्जा प्रवद्र्धन बोर्डमार्फत कार्यान्वयन गरिनेछ। निजी क्षेत्रको सहकार्यमा सञ्चालन गरिने नवीकरणीय उर्जा र सानो क्षमताका प्रशारण लाइनहरू बिस्तारको काममा लगानी गर्ने १७ दशमलब २ मिलियन अमेरिकी डलर बराबर लगानी गर्ने सम्झौता भएको हो।
न्यून क्षमताको प्रशारण लाइन निर्माणका लागि ७ दशमलब ६१ मिलियन अमेरिकी डलर अर्थात करिब ८४ करोड २३ लाख रुपैयाँ खर्च गरिनेछ।
यस आयोजनाका लागि विश्व बैंकले २ मिलियन अमेरिकी डलर बराबर ऋण उपलब्ध गराउनेछ भने ६ दशमलब ६१ मिलियन अमेरिकी डलर अनुदानका रुपमा नेपालले पाउनेछ।
त्यसमा नेपाल सरकारले ६ मिलियन अमेरिकी डलर तथा निजी क्षेत्रबाट ३ दशमलब ६० मिलियन अमेरिकी डलर लगानी थप हुनेछ।
आयोजना सम्बन्धी सहकार्यमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै उपसचिव नेपालले विश्व बैंकको यो योजना वैकल्पिक उर्जाको प्रवद्र्धन तथा ग्रामीण विद्युतीकरणका लागि मात्र कोशेढुंगा नभई प्रशारण लाइन पुग्न नसकेको क्षेत्रमा विद्युतीकरणका लागि पनि उत्तिकै सहयोग सिद्ध हुने धारणा राखे।
विश्व बैंकका नेपालका लागि कन्ट्री डाइरेक्टर विज्ञान प्रधानले निजी क्षेत्रको पनि सहकार्य रहने यो आयोजनाले विद्युत क्षमता विकासमा मात्र सहयोग पुर्याउने नभई सरकार, विश्व बैंक र निजी क्षेत्रको सहकार्यमा नयाँ आयाम थपिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।