काठमाडौं– हरेक महिना ४० हजारभन्दा बढी युवाहरु रोजगारीको खोजीमा खाडी लगायतका विभिन्न मुलुक पुग्ने गरेका छन्। रोजगारीकै खोजीमा गत चैतमा मात्रै ४४ हजार ९ सय ५ जना जना रोजगारीको खोजीमा विभिन्न देश पुगेको तथ्यांकले बताउँछ।
२ हजारभन्दा बढी महिला
खाडी लगायतका मुलुकमा श्रम स्विकृति लिएर जाने महिला कामदारहरुको संख्या चैतमा मात्रै २ हजार ७ सय १९ जना रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। ४२ हजार १ सय ८६ पुरुष सो अवधिमा बाहिरिएका छन्।
पुरुषको तुलनामा महिला कामदारको संख्या कम भए पनि उनीहरुको आकर्षण बढ्दै गइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
अदक्ष कामदार बढी
वैदेशिक रोजगारमा जाने नेपालीमध्ये अदक्ष कामदारको संख्या निकै ठूलो रहेको छ। अदक्ष रुपमा रोजगारीमा जाँदा थोरै पारिश्रमिकमा कठिन काम गर्न उनीहरु बाध्य छन्।
गत महिना विदेशिएका ४५ हजार कामदारमध्ये २५ हजार १ सय ६० जना अदक्ष कामदार रहेका छन्।
यस्तै सो अवधिमा १६ हजार ८९ जना दक्ष कामदार र ३ हजार ४ सय अर्धदक्ष कामदार विदेशिएका छन्। व्यावसायिक कामका लागि जम्मा १ सय ६० जना कामदार बाहिरिएको तथ्यांक छ। उच्च दक्षता भएका १७ जना कामदार मात्रै वैदेशिक रोजगारीमा गएका छन्।
ठूलो संख्याका अदक्ष कामदार खाडी मुलुकमा क्लिनर, हेल्पर, स्कापफोल्डर, लेभर लगायत कामका लागि जाने गरेका छन्।
दक्ष र उच्च दक्षता भएका कामदारको रोजाइ भने जापान लगायत विभिन्न युरोपीयन मुलुक हुने गरेको छ।
दक्ष कामदारहरु खाडी मुलुकमा नै पुगेर पनि आफ्नो दक्षता अनुसारको काम गर्ने हुँदा समस्यामा नपर्ने विभागका निर्देशक भोलानाथ गुरागाइँ बतताउँछन्। ‘विदेशमा समस्यामा पर्नेमा अदक्ष कामदारकै संख्या ठूलो छ,' उनी भन्छन्, 'राम्रोसँग पढ्न र लेख्न समेत नसक्ने कामदारलाई एउटा काम भनेर करारनामा गराउने तर अर्कै काममा लगाउने देखिन्छ।'
रोजगाइमा कतार
विदेशीने अधिकांश नेपालीको रोजाइमा कतार परेको छ। कतारमा रोजगारीका लागि सबैभन्दा बढी कामदार १७ हजार जना गएको तथ्यांकमा उल्लेख छ।
कतारपछि साउदीमा १५ हजारभन्दा बढी कामदारहरु अन्तिम श्रम स्विकृति लिएर गएका छन्।
युएई, बहराइन, ओमन, कुवेत, जापान, क्यानडा, इजिप्ट लगायतका विभिन्न मुलुकमा समेत रोजगारीका लागि जाने नेपाली कामदारहरुको आकर्षण बढ्दै गइरहेको विभागले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।