बनेपा- पुराना पुस्ताका आख्यानकारले नयाँ पुस्तालाई साधना र गहन अध्ययनबाट मात्रै सो विधामा लाग्नुपर्ने सुझाव दिएका छन्।
छन्द दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठान भकुण्डेको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा भएको ‘नमोबुद्ध साहित्य गोष्ठी’ कार्यक्रममा साहित्यकार रेशम विरही र विप्लव प्रतीकले यस्तो सुझाव दिएका हुन्। आख्यान क्षेत्रको विकासमा टेवा पुर्याउनका लागि नयाँ पुस्ताले धेरै योगदान दिएको भए पनि लेखनशैलीमा साधना र अध्ययनको कमी भएको पाइएको उनीहरुको भनाइ छ।
साहित्यकार विरहीले भने, 'नयाँ पुस्ताले लेखिरहेका आख्यानमा आशा गर्ने ठाउँ हुँदाहुँदै पनि लेखनमा अलि कमजोरी देख्छु।' अर्का कवि विप्लव प्रतीकले आफूले ठीक विषयलाई अँगाल्दै सुधार गर्नुपर्ने कुरालाई ध्यानमा राखेर युवा पुस्ताले साहित्यिक क्षेत्रमा कलम चलाउनुपर्नेमा जोड दिए। आवश्यकताका आधारमा आफैँ अगाडि आउने भए पनि कवि, कथाकार र उपन्यासकार बन्नका लागि साधना र अध्ययन उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।
नयाँ पुस्ताका साहित्यकार नवीन विभासले नयाँ पुस्तामा प्रविधिले गर्दा अवसरसँगै चुनौती पनि थपिरहेको भएर अध्ययनमा कमी भएको हो कि भन्ने अनुभूति आफूमा पनि भएको बताए। नयाँ पुस्तामा त्यस्तो देखिए पनि सबै आख्यानकारलाई एउटै आँखाले हेर्न नमिल्ने उनको भनाइ छ।
अर्को प्रसङ्गमा साहित्यकार तथा उपन्यासकार प्रतीक र विरहीले लेख्ने बेला पाठकलाई भन्दा पनि आफ्नै धुनमा खोजेका विषयलाई लेखनका माध्यमबाट प्रस्तुत गर्ने गरेको धारणा राखे। साहित्यकार विभासले आफूले कसैको नजर पुग्न नसकेका मान्छेको आवाजलाई उठाउन केन्द्रमा राखेर लेख्ने गरेको बताए।
कार्यक्रममा साहित्यकार मोहन दुवाल, हरि मञ्जुश्री लगायतले साहित्यमा कविता विधा र छन्दको सवालबारे आ-आफ्नो धारणा राखेका थिए।
त्यस्तै साहित्यकार भुवनहरि सिग्देल, नमोबुद्ध नगरपालिकाका प्रमुख एवं रोशी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष टङ्कप्रसाद शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, रामबहादुर पहाडी, राजु स्याङ्तान, रोशन पुन, नरेन्द्रकुमार नगरकोटी लगायतले आ-आफ्नो सिर्जना वाचन गरेका थिए।
नगरपालिकाका प्रमुख एवं रोशी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष टङ्कप्रसाद शर्मा तिमल्सिनाले वाङ्मयको बन्न लागेको भवनका लागि आगामी आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।