१. कविता
कविता वक्तव्य हैन, साक्षी हो
कहिले हाम्रो सामुन्ने
कहिले हामीभन्दा पहिले
कहिले हामीभन्दा पछाडि
भाषामा कविताको बयान
कसैले चाहे पनि रोक्न सक्दैन
जसको पूरा अर्थ हो- सत्य
जसको पूरा प्रयास हो- राम्रो मानिस
कवितालाई कुनै हतार छैन
कि ऊ विज्ञापनहरु जस्तै टाँसियोस्
जुलुसहरु जस्तै निस्कियोस्
नाराहरु जस्तै गुञ्जियोस्
अनि चुनावहरु जस्तै जितोस्
कविता मान्छेको भाषामा
कतै कुनै रुपमा बाँचोस्, बस् !
२. सामान्य जिन्दगी बाँचेर
म जान्दछु
संसारलाई बदल्न सक्दिनँ
न त लडेर नै
उसलाई जित्न सक्छु
हो, लड्दै-लड्दै सहिद बन्न सक्छु
अनि त्योभन्दा बढी
एक सहिदको समाधि
वा एक कलाकार जस्तै भव्य
तर सहिद हुनु
बिछट्टै बेग्लै प्रकारको विषय हो
एकदम सामान्य बाँचेर पनि
मान्छेहरु चुपचाप सहिद भएको देखिएको छ ।
३. प्रबन्ध
हिजो फेरि एउटा हत्या भयो
विचित्र परिस्थितिमा ।
म अस्पताल गएँ
तर त्यो ठाउँ अस्पताल थिएन
त्यहाँ मैले डाक्टरसँग भेटेँ
तर त्यो व्यक्ति डाक्टर थिएन
उसले नर्ससँग केही भन्यो
तर त्यो महिला नर्स थिइन ।
त्यसपछि उनीहरुले मलाई अपरेशन-कक्षमा लगे
तर त्यो ठाउँ अपरेशन-कक्ष थिएन ।
त्यहाँ बेहोश पार्ने डाक्टर
पहिलेदेखि नै तम्तयार थियो- तर ऊ पनि
खासमा कुनै अर्कै मानिस थियो ।
त्यसपछि त्यहाँ अधमरो बच्चा ल्याइयो
जो बिरामी होइन, भोको थियो ।
डाक्टरले टेबलबाट
अपरेशन गर्ने चक्कु उठायो
तर त्यो चक्कु होइन
खिया लागेको भयानक चक्कु थियो ।
चक्कु बच्चाको पेटमा रोप्दै उसले भन्यो-
अब यो एकदम ठीक हुनेछ ।
४. घन्टी
फोनको घन्टी बज्यो
मैले भनेँ- म छुइनँ
अनि कोल्टे फेरेर सुतेँ
ढोकाको घन्टी बज्यो
मैले भनेँ- म छुइनँ
अनि कोल्टे फेरेर सुतेँ
अलार्मको घन्टी बज्यो
मैले भनेँ- म छुइनँ
अनि कोल्टे फेरेर सुतेँ
एकदिन
मृत्युको घन्टी बज्यो…
आत्तिँदै उठेर बसेँ-
म छु… म छु… म छु…
मृत्युले भन्यो-
कोल्टे फेरेर सुत ।
***
सन् १९२७ सेप्टेम्बर १९ (फैजावाद, उत्तरप्रदेश) मा जन्मिएका भारतका प्रभावशाली कवि कुँवर नारायणको गत बुधबार (नोभेम्बर १५) ९० वर्षको उमेरमा निधन भयो। ज्ञानपीठ पुरस्कार (२००५) र पद्मभूषण (२००९) बाट सम्मानित उनी जुलाई महिनामा ब्रेन ह्यामरेजपछि कोमामा थिए।
उनी इतिहास र मिथकमार्फत वर्तमानलाई हेर्ने विशिष्ट सर्जक मानिन्छन्। मुख्य विधा कविता भए पनि उनले लेख, कथा, समीक्षा पनि लेखेका छन्। उनका कवितासंग्रहमा ‘चक्रव्यूह’, 'परिवेश', 'हम तुम', आत्मजयी, ‘तीसरा सप्तक’, ‘अपने सामने’, ‘कोई दूसरा नहीं’, ‘इन दिनों’, 'वाजश्रवा के बहाने', 'हाशिये का गवाह' प्रमुख छन्। यस्तै, ‘आकारों के आसपास’ कथासंग्रह तथा ‘आज और आज से पहले’, ‘मेरे साक्षात्कार’ समीक्षा/विचार लेखसंग्रह लगायतका कृतिहरु प्रकाशित छन्।
हिन्दीबाट अनुवाद: जोतारे धाइबा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।