काठमाडाैं- राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा बिना थिङ तामाङको 'ब्याड भाले' शीर्षकको कथा प्रथम भएको छ।
बाह्रखरी बुक्सले आयोजना गरेको 'डिस होम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता'मा लक्ष्मण वियोगीको कथा 'टाउको' दोश्रो र सुमित्रा न्यौपानेको कथा 'बार्दली'ले तेश्रो स्थान हासिल गरेको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम गरी प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको हो। प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोश्रोले ६० हजार र तेश्रो हुनेले ४० हजार रुपैयाँ नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरेका बुक्सले जनाएकाे छ।
प्रतियोगिताका लागि झण्डै ९ सय कथा प्राप्त भएका थिए। त्यमध्ये ४ सय ४५ कथा मापदण्डभित्र परेका थिए। कार्यक्रममा उत्कृष्ट २५ कथा समेटिएकाे संग्रहसमेत विमोचन गरिएको छ। उत्कृष्ट २२ कथाकारलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रमकाे प्रमुख अतिथिसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने तथा उत्कृष्ट २५ कथाका कथाकारलाई पुरस्कार प्रदान गरेका थिए।
मन्त्री ज्ञवालीले प्रतियोगितामा उत्कृष्ट हुने कथाकारलाई बधाई तथा शुभकामना दिँदै अशावादी सिर्जनामा लागिरहन सुझाव दिए। साहित्य सिर्जना जीवनप्रति नै नैराश्यता ल्याउने नभई सधै जीवन बाँच्ने प्रेरणा प्रदान गर्ने किसिमको हुनुपर्नेमा उनले जोड दिए।
बाह्रखरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी २ वटा कमिटी बनाएको थियो। प्रतिक प्रधान, राजेन्द्र पराजुली, गोविन्द अधिकारी, लेनिन बञ्जाडे, राजेश खनाल, अक्षर काकासहितको आन्तरिक कमिटीले चयन गरेका उत्कृष्ट २५ कथाबाट डाक्टर दयाराम पाण्डे, डाक्टर अर्चना थापा तथा नयनराज पाण्डेको मुल्यांकन कमिटीले पहिलो, दोश्रो र तेश्रो कथा चयन गरेको थियो।
उत्कृष्ट २२ कथाकारमा मानसी, अनुपम रोशी, अन्वेष राई थुलुङ, अभय श्रेष्ठ, अरुणा चौधरी थारु, एकदेव अधिकारी, कर्मसही घर्तीमगर, केशव सिग्देल, गाेपाल झापाली, दुर्गा कार्की, नीरज दाहाल, प्रमोद अमात्य, माधव सयपत्री, मणि लोहनी, महेश थापा, मुना चौधरी, डा राजुबाबु श्रेष्ठ, लक्ष्मण वियोगी, विपुल सिजापति, शिव प्रकाश, सुमित्रा न्यौपाने, सुरेश यक्सो, हरिमाया भेटवाल, क्षितिज समर्पण रहेका छन्।
प्रतियोगितामा गत माघ २१ देखि फागुन २० गतेसम्म कथा आह्वान गरिएकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।