पहिलो चलचित्र 'हँसिया' देखि नै विदेशमा फिल्म प्रिमियर गर्दै आएका निर्देशक मिलन चाम्स निर्देशित पछिल्लो चलचित्र 'ह्याप्पी डेज'को बेलायतमा प्रिमियर गरिएको छ।
९५ प्रतिशत छायांकन बेलायतमै गरिएको चलचित्रको रेड कार्पेट प्रिमियर त्यहाँको प्रिन्सेस हल अल्डर्सटमा गरिएको हो।
प्रिमियरमा कलाकारहरु प्रियंका कार्की, धीरेन शाक्य, प्रदीप खड्का, विक्की जोशी र दिया पुन लिमोजिनबाट उत्रिँदा दर्शकले ताली एवं स्कटिस कल्चर पाइपर धुन बजाएर स्वागत गरेका थिए। प्रिमियर शोमा आकर्षक गोल्डेन गाउन पहिरनमा उपस्थित भएकी प्रियंका सबैको आकर्षण बनिन् । नायिका कार्की प्रिमियरका लागि जम्मा दुई दिनका लागि बेलायत पुगेकी थिइन्।
नेपाल बाहिर फिल्म निर्माण चुनौतीपूर्ण भएको बताउँदै प्रियंकाले सबैको साथ भए नेपाली चलचित्र विश्वव्यापी हुने बताइन् । प्रियंकाले फिल्म छायांकनका क्रममा करिब डेढ महिना भोग्नुपरेको बेलायतको चिसो मौसम, लोकेसनको विकटता, यातायात र अन्य व्यवस्थापनका अप्ठेरो स्मरण गर्दै अन्तत: फिल्म राम्रो बनेकोमा खुसी व्यक्त गरेकी थिइन्।
आम नेपालीको बेलायत टेक्ने सपना, त्यहाँ गइसकेपछि रातो पासपोर्टको महत्वाकांक्षा, आप्रवासीले भोग्नुपर्ने अप्ठेरो जस्ता विषयवस्तु समेटिएको 'हयाप्पी डेज'लाई प्रिमियरमा सहभागी दर्शकहरुले राम्रो प्रतिकृया दिएका छन्। फिल्ममा प्रियंका कार्की, दयाहाङ राई, सञ्जय गुप्ता, विक्की जोशी, मोनिका गुरुङ आदि कलाकारले अभिनय गरेका छन्।
विपी खनाल प्रस्तुतकर्ता रहेको हयाप्पी डेजमा हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स, डा. अशोक बन्साल लगायतको लगानी छ। नेपालमा सो चलचित्र माघ १२ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।