नयाँ दिल्ली (एजेन्सी)- दमदार अभिनयका कारण बलिउडमा विद्या बालनको अलग परिचय छ। तर, कुनै समय उनको मनमा फिल्म क्षेत्र नै छाड्ने कुरा आएको थियो।
फिल्ममा व्यस्त भइरहँदा नै विद्या यो क्षेत्रबाट दिक्क भएकी थिइन्। 'बेबी' र 'किस्मत कनेक्सन' फिल्मको दौरान उनको वजन र पहिरनलाई लिएर अनेक टीका-टिप्पणी र आलोचना भएपछि उनले फिल्म क्षेत्र छाड्ने विचार गरेकी थिइन्। उनलाई त्यसबेला लागेको थियो, 'यसअघि मैले पाएको तारिफ कतै एउटा संयोग मात्र त थिएन?'
त्यो बेला दक्षिण भारतीय फिल्म उद्योगमा उनको धेरै आलोचना भइरहेको थियो। विद्यालाई 'अलच्छिना' समेत भनिएको थियो। उनले खेल्ने भनेर तय भएका कुनै फिल्म सुरू नै नभएपछि उनलाई त्यस्तो संज्ञा दिइएको थियो।
यस्तो भएपछि विद्यालाई कतै आफू यो उद्योगको लागि लायक नै छैन कि भन्ने सोच आएको थियो। तर, उनले त्यो बेलामा पछि हट्नुभन्दा सशक्त भएर अगाडि बढ्नुपर्ने भावना आएकैले उद्योग नछाडेको बताउँछिन्।
विद्यालाई 'पा', 'डर्टी पिक्चर' र 'कहानी' जस्ता फिल्मको सफलताले त्यो हौसला प्रदान गरेको थियो। करिअरको सुरूवातमा पनि उनलाई 'परिणीता' फिल्मले प्रशंसा दिलाएको थियो।
कुनै बेला फिल्म क्षेत्रदेखि निराश भएकी विद्याले करिअरमा यस्तो काम देखाइन्, आज महिलाप्रधान फिल्म बनाउने बेलामा उनकै नाम सबैभन्दा अगाडि निर्देशकको दिमागमा आउँछ। धेरै आलोचना र असहजता चिर्दै उनले यो स्थान बनाएकी हुन्।
विद्या भन्छिन्, 'म एकदमै अटेरी रहेछु। यत्रो आलोचना खेपेर पनि निरन्तर लागिरहेँ र आज विद्या बालन बन्न सकेँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।