काठमाडौँ- एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले हिन्दु राष्ट्र नेपालको पहिचान, राष्ट्रिय चरित्रको संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थालाई कार्यदिशा बनाएको छ।
पृथ्वीपथ नाम दिइएको पार्टीको चिन्तन र कार्यक्रममा जनतामा निहित राजकीय सत्ता र सार्वभौमसत्ता, राष्ट्रियता एवं राष्ट्रिय चारित्रिक पहिचानको संवैधानिक राजसंस्थाका साथै पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र पहिचान र समावेशी प्रजातान्त्रिक राष्ट्रवादलाई महत्व दिइएको छ।
पार्टीले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा १२ कक्षासम्मको आधारभूत शिक्षालाई अनिवार्य तथा निःशुल्क लागू गरिनेछ। कुनै पनि नेपालीलाई उपचारको अभाव हुन नदिन स्वास्थ्य बीमा देशव्यापी रुपमा लागू गरिनेछ।
आआफ्नो क्षेत्रमा विशेष योगदान प्रदान गर्ने देशका खेलाडी, पत्रकार, लोकगायकगायिका, साहित्यकार, कलाकार आदिलाई सरकारी सेवामा विशेष प्राथमिकता दिइने घोषणापत्रमा उल्लेख छ। आदिवासी, जनजाति, मधेशी समुदाय र पिछडिएका जातजातिका भाषा, संस्कृति, लिपि र कला संरक्षण सुनिश्चित गरिने घोषणापत्रमा जनाइएको छ।
घोषणापत्रमा भनिएको छ, 'तराईवासी मधेशी जनतालाई राज्यका विभिन्न अंगमा समावेशी नीति लागू गरिनेछ। नेपाली सेनामा जनसंख्याका आधारमा मधेशीलाई भर्ना व्यवस्था गरिनेछ। जनकपुर र लुम्बिनीलाई क्रमशः मिथिला र बौद्ध संस्कृतिको बृहत् अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रुपमा विकास गरिनेछ र अन्तर्राष्ट्रिय पर्यटनको नयाँ केन्द्र बनाइनेछ।'
मधेसको आर्थिक उन्नतिका लागि तराई–मधेसका सहरलाई नयाँ भौतिक तथा प्राविधिक आधारशिलाको विस्तार गरी उद्योग सेवा र पर्यटन केन्द्रित रोजगारीका नयाँ केन्द्र बनाइने तथा दोस्रो स्तरका सहर भीमदत्तनगर, कृष्णनगर, कलैया, जलेश्वर, लहान, राजविराज, इटहरी र भद्रपुरको योजनाबद्ध विकास र विस्तार गरिने उल्लेख छ। पहाड र तराई जोड्ने नाकाका रुपमा रहेका सुर्खेत, तुलसीपुर, त्रिभुवननगर बुटवल, भरतपुर, हेटौंडा, गाईघाट तथा धरान र बिर्तामोडमा विशेष आर्थिक क्षेत्र, प्राविधिक केन्द्र तथा आवास आयोजना सञ्चालन गरी अत्याधुनिक र विकसित तुल्याइनेछ पनि घोषणापत्रमा जनाइएको छ।
राज्यको नीतिनिर्माण तहमा महिला प्रतिनिधित्व ५० प्रतिशत पुर्याउन राष्ट्रिय औसत कायम नभएसम्म विश्वविद्यालयजस्ता प्राज्ञिक र प्राविधिक क्षेत्रमा कार्यरत महिला कर्मचारीलाई मन्त्रालय र विभागका विशिष्ट श्रेणीमा सरुवा गरी पदोन्नति गरिने तथा सहयोगस्वरुप दुई शिशु मात्र जन्माउनेलाई बोनस भत्ता वृद्धि गरी प्रदान गरिने जनाइएको छ।
बेरोजगार युवालाई रोजगारी नपाउञ्जेल बेरोजगार भत्ता दिइने र आगामी १० वर्षभित्र राष्ट्रका ५० लाख युवालाई रोजगारी दिलाउने लक्ष्य लिइएको छ। युवा–विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा दिइने तथा बालबालिका क्षेत्रमा काम गर्ने गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई जिम्मेवार र उत्तरदायी तुल्याइने बताइएको छ।
आर्थिक विकासको वृद्धिदर वार्षिक ८ देखि १० प्रतिशत कायम गर्ने लक्ष्य राखिएको छ। प्राकृतिक सम्पदा, पर्यटन एवं निजी क्षेत्रको सहभागितामा जैविक विविधतामा आधारित उद्योगधन्दाको विकास गरी उच्च, दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गरी आगामी १० वर्षभित्र गरिबी निवारण गरिनेछ। त्यस्तै कृषि र उद्योगबीचको अन्तरसम्बन्ध स्थापित गर्दै दुवैमा लगानी वृद्धि गरी मुलुकलाई त्यस क्षेत्रमा आत्मनिर्भर बनाइने र कृषि क्षेत्रको वृद्धिदर ४.५ देखि पाँच प्रतिशत कायम गरी राष्ट्रिय उत्पादन र लगानीको अनुपात ३५ प्रतिशत पुर्याइने प्रतिबद्धतापत्रमा उल्लेख छ।
घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकको स्थायित्व र जनताको समृद्धि र प्रगतिका लागि दिगो शान्ति कायम गर्न हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा आफ्नो पार्टी क्रियाशील रहेको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।