नयाँ दिल्ली (एजेन्सी)- सन् १९७५ मा बलिउडमा सनसनी मच्चाएको फिल्म 'शोले' का गब्बर सिंहलाई दर्शकले कसरी पो भुल्लान् र ? बलिउडका भिलेनको चरित्रमध्ये विशेष छाप छाड्ने गब्बरको भूमिका गरेका अमजद खान जीवितै रहेका भए आइतबार ७७ वर्षका हुने थिए।
अमजदले बलिउडमा थुप्रै ब्लकबस्टर फिल्ममा आफ्नो अभिनयको जादु देखाएका थिए। नकारात्मकसँगै सकारात्मक भूमिकामा पनि उत्तिकै जीवन्त अभिनय पस्किने उनलाई फिल्मप्रेमीका माझ आज पनि जीवितै राखेको छ। यस्ता अभिनेताको जीवन भने एउटा दुर्घटनाले बदलिदियो।
एक फिल्मको सुटिङका लागि गोवा जाँदै गर्दा उनी कार दुर्घटनामा परे। उनका शरीरका १३ ठाउँमा हड्डी भाँच्चियो। त्यो दुर्घटनाले उनको करिअरलाई नै असर पार्यो। उनी लामो समय अभिनयमा फर्किन सकेनन्। अभिनयमा फर्किँदा उनले करिअरलाई पुरानो लयमा कहिल्यै फर्काउन सकेनन्।
दुर्घटनामा कारको स्टेरिङ शरीरभित्र छिरे पनि उनले त्यसबेला मृत्युलाई जिते। तर, उनी लामो समय ह्विलचेयरमा बस्नुपर्यो। उनको अपरेसन र उपचारमा अमिताभ बच्चनले ठूलो सहयोग गरेका थिए।
बेड रेस्ट र औषधोपचारका कारण उनको शरीरको वजन पनि अस्वाभाविक रुपमा बढ्न पुग्यो। दुर्घटना अगाडि फिटनेसका लागि दैनिक ब्याडमिन्टन खेल्ने उनको दैनिकी बदलिन पुगेपछि उनी मोटाएका थिए।
जीवनसँग जुधेर अगाडि बढिरहेका अमजदले एकदिन भने मृत्युलाई जित्न सकेनन्। उनको मृत्यु जसरी भयो, त्यो अकल्पनीय र अविश्वसनीय किसिमको थियो। जसबारे उनकी पत्नी शैला खानले एक अन्तर्वार्तामा सार्वजनिक गरेकी थिइन्।
१९९२ जुलाई २७ मा अमजदलाई एकजना मानिस भेट्न जानु थियो। उनी आफ्नो कोठामा कपडा लगाउन गए। तर, उनी कोठाबाट निस्केनन्। छोरा शादाब आत्तिँदै आमाकहाँ आएर बुबा लडेको र शरीर चिसो भएको सुनाए। शैला दौडिँदै कोठामा पुग्दा अहमद खान बेहोश थिए, जसको केही मिनेटमै उनले संसार छाडे।
शैला भन्छिन्, 'उहाँ म पाँच मिनेटमै कसैलाई थाहा नदिई जानेछु, कसैलाई सेवा गर्न लगाउने छैन भनिरहनुहुन्थ्यो। आखिर त्यस्तै भयो।'
चियाको लत
अमजद चियाका निकै सौखिन थिए। चिया नखाई उनी कुनै काम गर्न सक्दैनथे। चियाप्रति उनको लत एउटा घटनाले दर्शाउँछ।
एकपटक उनी पृथ्वी थिएटरमा रिहर्सल गरिरहेका थिए। उनलाई चिया खान मन लाग्यो, तर दूध थिएन। भोलिपल्ट उनले दुई वटा भैंसी ल्याएर थिएटर नजिकै बाँधिदिए। चिया पकाउनेलाई चिया निरन्तर बनाइरहन भने।
उनी दिनमा ३० कपसम्म चिया पिउँथे।
उनी र अमिताभबीच प्रगाढ मित्रता थियो। दुवैले कैयौं फिल्ममा सँगै काम गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।