काठमाडौँ- शनिबार निधन भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको स्मृतिमा पुस्तक प्रकाशन हुने भएको छ।
नइ प्रकाशनले ‘देशभक्त राजनेता : कीर्तिनिधि विष्ट’ नामक बृहत् स्मृतिग्रन्थ प्रकाशन गर्ने भएको हो।
'नेपाली राष्ट्रियताका पहरेदार, नैतिकताका प्रखर प्रतीक, अति इमानदार, अति शालीन, महेन्द्रवादी चिन्तक, देशभक्त राजनेता, पूर्वप्रधानमन्त्री सम्माननीय कीर्तिनिधि विष्टको स्वर्णिम योगदानको इतिहास नेपाली वाङ्मयमा सुरक्षित राख्नु हाम्रो कर्तव्य हो,' प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विष्टसँगको संस्मरण, उनको देशभक्ति गाथा र राजनैतिक निष्ठा, उचाइ र योगदानबारे आआफ्नो लेख उपलब्ध गराउन ५० वर्षमाथिका लेखक, राजनीतिज्ञ, चिन्तक र बुद्धिजीवीहरूमा अपिलसमेत गरिएको छ।
स्व विष्टका बुबाआमा चन्द्रनिधि विष्ट/धनकुमारी विष्टका स्मृतिमा ‘नइ चन्द्रधन पुरस्कार’ र विष्टकै सम्मानमा ‘नइ कीर्तिनिधि पुरस्कार’ नइ प्रकाशनले हरेक वर्ष प्रदान गर्दै आएको छ। यी दुवै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ।
विष्ट नइ प्रकाशनका संरक्षक तथा दातासमेत थिए। गत शनिबार ९१ वर्षको उमेरमा आफ्नै निवास ज्ञानेश्वरमा विष्टको निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।