काठमाडौं- आँबुखैरेनी स्रष्टा समाजद्वारा हरेक वर्ष प्रदान गरिने आबुँखैरेनी वाङ्मय पुरस्कार यज्ञशको गैर-आख्यान कृति 'भूइयाँ'लाई प्रदान गरिने भएको छ।
सोमबार बसेको समाजको बैठकले छनौट समितिले सिफारिस गरेको कृति यज्ञशको ‘भुइयाँ'लाई २०७४ सालको साहित्यतर्फको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्य कलाकार उत्तम केसीलाई हास्यव्यङ्ग्यतर्फको ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको बताइएको छ। दुवै पुरस्कारको राशी जनही रू १०,००० र प्रमाणपत्र रहेको छ।
सोही अवसरमा २०७४ को महेश कुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँवुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने भएको छ।
पुरस्कृत स्रष्टा यज्ञशको २०७४ मा फाइनप्रिन्टबाट प्रकाशित ‘भुइयाँ' ले २०१८ को दुई लाख राशीको पहिचान पुरस्कार पाएको थियो भने ‘भुइयाँ’ मदन पुरस्कारको लागि अन्तिम मनोनयनमा समेत परेको थियो।
उनका चर्चित भारतीय साहित्यकार उदय प्रकाशको लघु उपन्यास ‘मोहनदास’ २०६६ र कथा संग्रह ‘नेलकटर’ २०७३ अनुवाद कृति प्रकाशित छन्।
चिजकुमार श्रेष्ठको घुमीफिरी बन्दिपुर पुस्तक सम्पादन र फिटकिरी चलचित्रको पटकथा लेखन गरेका यज्ञश चलचित्र समीक्षक नेपाल (फिक्सन)को अध्यक्ष पनि हुन्।
१७ वर्षदेखि पत्रकारितामा रहेका यज्ञश १० वर्षदेखि कान्तिपुर दैनिकमा आबद्ध छन्।
इन्द्रासन पुरस्कारबाट पुरस्कृत हाँस्य कलाकार उत्तम केसी २०३८ सालदेखि रंगमञ्च क्षेत्रमा प्रवेश ३ दर्जनभन्दा बढी नाटकमा अभिनय गरेका केसी निरन्तर हास्यकलाकारको भूमिकामा अभिनय गर्दै आइरहेका छन्।
रेडियो नेपालबाट प्रशारण हुने रेडियो रसरङ्ग कार्यक्रमको निर्देशन गरेका केसी २०४४ सालदेखि चलचित्र क्षेत्रमा प्रवेश गरी २५० भन्दा बढी चलचित्रमा हास्य अभिनेताको रुपमा अभिनय गरेका छन्।
उत्कृष्ठ निर्देशक रेडियो नाटक २०४९ युनेस्को कला पुरस्कार २०५६ नेशनल भिजन विजी एवार्ड २०५३ लगायत थुप्रै फिल्मी एवार्डहरु प्राप्त गरेका केसी चलचित्र कलाकार सङ्घमा आबध्द छन्।
यी दुबै पुरस्कार बैसाख २८ गते आँबुखैरेनीमा एक साहित्यिक कार्यक्रमको आयोजना गरी प्रदान गरिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।