काठमाडौं– इरान र इराकको सीमा नजिकै उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी पश्चिमी इरानमा ६१ जनाको ज्यान गएको छ भने ३ सयभन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ।
यस्तै, इराकतर्फ पनि ४ जनाको मृत्यु भएको र यो संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
बिबिसीका अनुसार मध्यपूर्वको यी दुई देशबीचको सीमामा ७ दशमलव ३ रेक्टरको भूकम्प मापन गरिएको छ। दुवै देशका मिडियाले भूकम्पपछि स्थानीय व्यक्तिहरु घर छोडेर बाहिर निस्किएको बताएका छन्। भूकम्प गएपछि इराकको राजधानी बगदादको मस्जिदमा भगवानसँग क्षमा माग्न लाउडस्पिकरबाट ठूलो आवाजमा धार्मिकग्रन्थ कुरान पढ्न सुरु भएको थियो।
इरानको सीमा नजिकको सहर सार्पोल–ए–जहाबमा सबैभन्दा बढी भूकम्पको प्रभाव परेको बताइएको छ। ८ वटा गाउँ पूर्ण रुपमा प्रभावित भएका छन्।
अमेरिकी भूर्गभविदहरुले भूकम्पको केन्द्र इरानको सीमा जोडिएको उत्तरपूर्वी क्षेत्रको हालाब्जा रहेको बताएका छन्। आइतबार राति गएको भूकम्पको धक्का टर्की, इजरायल र कुवेतसम्म महसुस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।