रसुवा– मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वयंसेवकहरु मतदाता शिक्षा कार्यक्रम लिएर रसुवाका गाउँगाउँमा खटिएका छन्।
स्वयंसेवकहरुलाई निर्वाचन कार्यालय रसुवाले मतदाता शिक्षाबारे जानकारी दिएसँगै उनीहरु गाउँगाउँमा खटिएका हुन्। निर्वाचन र निर्वाचित प्रतिनिधिसभा सांसद र प्रदेशसभा सांसदको काम, कत्र्तव्य र अधिकारको विषय सिकाइपछि उनीहरुलाई मतदाताहरुको घरघरमा पठाइएको निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी नविन खालिङले बताए।
निर्वाचन कार्यालयले जिल्लामा निर्वाचनका लागि गर्नुपर्ने अन्य कामसँगै मतदातालाई मतदान गर्नेबारे सिकाउन स्वयंसेवकहरुलाई प्रशिक्षण दिएर परिचालन गरेको हो। खटाइएका स्वयंसेवकहरुले मतदाताहरुको सहभागितालाई वृद्धि गराउन सहयोग पुर्याउनुका साथै बदर मत कम गर्न मतदातालाई भोट हाल्न सिकाउनुपर्ने निर्वाचन अधिकारी खालिङले बताए।
निर्वाचन कार्यालय रसुवाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। ३२ हजार ३ सय २३ जना मतदाता रहेको रसुवामा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको ४५ वटा मतदान केन्द्रका लागि ४५ जना स्वयंसेवक परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।