कसैले मेरो कानमा आएर खुसुक्क भन्यो
महाशय, नयाँ वर्ष आयो नि!
मनमा केही उमंग
केही उत्साह
केही आनन्द
केही घबराहट
केही तनाव
यस्तै-यस्तै धेरै कुरा
फेरि लिएर आयो नी
महाशय! नयाँ वर्ष आयो नि!
तर के बदलिएको छ र त्यस्तो
जुन हिजो बदलिन सकेको थिएन
केही भोको पेट
केही नाङ्गो शरीर
केही आँखामा आँसु र रोदन
ती सब हिजो पनि थिए
र आज पनि छन्
त्यस्तो हालत न त हिजो बदलिएका थिए
न त आज नै बदलिएका छन्
कसैले मेरो कानमा आएर फेरि खुसुक्क भन्यो
महाशय! नयाँ वर्ष आयो नि!
हिजो द्रौपदीलाई नाङ्गो पार्न खोजिएको थियो
आज निर्मलालाई नाङ्गो र लाचार पारियो
हालत र फिक्रीका कारण
जो हिजो थियो त्यही आज पनि छ
दुशासन हिजो पनि हाँसिरहेको थियो
दुशासनहरु आज पनि हाँसिरहेका छन्।
कोही मेरो कानमा आएर फेरि खुसुक्क भन्यो
महाशय! नयाँ वर्ष आयो नि!
साल बदलिए तर हाल अझै त्यही नै छ
समय देश र जनताको चाल त्यही छ
गुनगुनाउँदै
कसैले मेरो कानमा आएर खुसुक्क भन्यो
महाशय! नयाँ वर्ष आयो नि!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।