एजेन्सी- एक अमेरिकी नागरिकले तरबुजा किन्न बजार जाँदा ७.५ मिलियन डलर (७५ करोड रुपैयाँ) क्षतिपूर्ति पाउने भएका छन्।
सन् २०१५ जूनमा हेनरी वाकर तरबुजा किन्न अलाबामास्थित वालमार्टमा छिरेका थिए। एउटा तरबुजा किनेर निस्किँदै गर्दा उनको खुट्टा तरबुजाको खातमा अल्झियो र उनी भुइँमा लडे। तरबुजाको खात हेनरीको शरीरमा बजारिँदा उनको करङ भाँच्चियो।
अस्पतालमा उपचार गराएर तंग्रिएपछि हेनरीले वालमार्ट विरुद्ध अदालतमा मुद्दा हाले। मुद्दाको फैसला दुई वर्षपछि मुद्दा सुनाउँदै अदालतले घाइतेलाई ७५ करोड क्षतिपूर्ति दिन वालमार्टलाई आदेश दिएको छ।
'वालमार्टले तरबुजाको भण्डारण जोखिमपूर्ण तरिकाले गरेकाले जोकोही पनि त्यसमा अल्झिने र घाइते हुने सम्भावना थियो। त्यसमा हेनरी परे र उनी सख्त घाइते भए त्यसैले वालमार्टको लापरवाहीलाई ध्यान दिँदै घाइते हेनरीलाई ७५ करोड रुपैयाँ क्षतिपूर्ति दिन अदालत आदेश दिन्छ', आदेशमा भनिएको छ।
अदालतको आदेश जायज नभएको भन्दै वालमार्ट पुनरावेदनका लागि जाने भएको छ। हेनरीकै लापरवाहीका कारण घटना भएको र त्यसमा वालमार्टको कुनै दोष नरहेकाले क्षतिपूर्ति दिनुपर्ने कारण नभएको वालमार्टको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।