– पूर्णप्रसाद मिश्र/रासस
काठमाडौं- 'बागमती सफाइ महाअभियान' सुरु भएको ३ सय ९ हप्ता पुग्दा पनि बागमती नै शौचालय बन्न छोडेको छैन।
बागमती सफाइ महाअभियानको ३०९औँ हप्तामा बल्खु पुलस्थित बागमती नदी किनारमा सफाइका क्रममा नदीमै शौचालय बनाई फोहर गरिएको भेटिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले बताइन्। नदीमै बनाइएको शौचालयबाट नदीमा मलमूत्र बगेर जाने गरेको छ।
यसले गर्दा जति सफा गरेपनि 'हिँड्दैछ, पाइला मेट्दैछ' भनेझै सफा गर्नुको अर्थ नहुने अभियानकर्मीको गुनासो छ। त्यसरी बनाइएका केही शौचालय शनिबारको सफाइका क्रममा भत्काइए पनि केही अझै बाँकी छन्। बल्खु क्षेत्रको नदी किनारमा सुकुम्बासीको नाममा सार्वजनिक जग्गा कब्जा गरी बसेका व्यक्तिहरुले यसरी नदी क्षेत्रमै शौचालय बनाएका हुन्। उसो त यस क्षेत्रको नदीमा अझै ढल हाल्न रोकिएको छैन।
अधिकार सम्पन्न बागमती समिति लगायत सरोकार भएका सरकारी निकायको मौनताले नदीको जग्गा कब्जा गरेर बस्नेलाई हटाउन नसक्दा बागमती सफाइमा चुनौती देखा परेको अभियानकर्मीको भनाइ छ। सरकारले बनाएको आवासमा पनि नसरी सुकुम्बासीका नाममा नदीको किनारको खाली ठाउँ कब्जा भइरहेको छ।
उपत्यकाबाट २६ मेट्रिक टन फोहर व्यवस्थापन
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार २६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन्।
स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन्। बल्खु क्षेत्रको बागमती सफाइबाट ४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएकाे थियो।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत १७ संस्थाको सक्रियता थियो। सफाइमा ३ सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो। गुह्येश्वरीमाथिको नदी सफाइको २७०औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–५ स्थित हनुमान वाटिका अघिको नदी किनारमा सफाइ गरिएकाे थियाे।
नगरपालिकाको–५ को आतिथ्यता र बागमती सुन्दरता सरोकार मञ्चको संयोजनमा सफाइ भएको थियो। सो अवसरमा कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए।
मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत आह्वान गरेको छ। घरकै फोहर व्यवस्थापन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ। सफाइबाट ३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएकाे थियो।
माटो र कुहिने फोहरलाई 'डम्पिङ साइट'मा नपठाउन पनि मञ्चले सफाइ अभियानकर्मीलाई अनुरोध गरेको छ। सफाइमा मानव अधिकार तथा शान्ति समाज लगायत सङ्घ संस्थासहित स्थानीयवासी गरी ३ सयभन्दा बढी अभियानकर्मीको सहभागिता थियो।
सफाइपछि नयाँ वर्षका अवसरमा चियापान कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा अधिकार सम्पन्न बागमती समितिका अध्यक्षलगायत अभियानकर्मी सहभागी भएका थिए।
रुद्रमती सफाइ अभियानको २६४औँ हप्तामा रातोपुल–सिफल–कालोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएके छ। सफाइमा काठमाडौं महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २ सयभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए।
विष्णुमती सफाइको २३६औँ हप्तामा तारकेश्वर र टोखा नगरपालिकाबीचको मनमैँजु पुलबाट शिव मन्दिरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी अनिल धरेलले जानकारी दिए।
मनोहरा तीर्थबाट नयाँ बसपार्कसम्म नमूना बनाउने उद्देश्यले ८ हप्ता लगातार यस भागमा सफाइ अभियान चलाइएको अभियानकर्मी शोभाकान्त पाण्डेयले बताए।
यस अवधिमा घरधनी र व्यवसायीलाई आफ्नो घर क्षेत्र सफा गर्न विशेष अनुरोध गरिएको थियो।
बागमतीको तिलगङ्गा क्षेत्रमा २१०औँ हप्ताको सफाइ काठमाडौं महानगरपालिका–८ स्थित तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो। जनचेतनामूलक सफाइका क्रममा 'फोहर र प्लाष्टिक नजलाऔँ' भन्ने सन्देश प्रवाह गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिइन्।
सुन्दरीघाटस्थित बागमती नदी किनारमा ११९औँ हप्ताको सफाइ गरियो। १ सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिए।
मनोहरा नदी सफाइको १०८औँ हप्तामा काठमाडौं महानगरपालिका–३२ स्थित झोलुंगे पुल क्षेत्रमा सफाइ गरी २ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्र दङ्गालले जानकारी दिए। सफाइमा उपमहालेखापरीक्षक ईश्वर नेपाल लगायत १ सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो।
चक्रपथ सफाइ अभियानको १०५औँ हप्तामा सामाखुसी चोकबाट गोंगबु चोकसम्मको क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी लोकबहादुर टण्डनले जानकारी दिए। घरदैलो गरी कुहिने फोहर सडकमा नफाल्न आह्वान गरिएको थियो।
सफाइमा सुरक्षा निकाय, हिमालयन वातावरण संरक्षण प्रालि लगायत संस्थाका ३ सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो।
सडकमा व्यापार गरेर बस्नेले धेरै फोहर गरे पनि काठमाडौँ महानगरपालिकालगायत राजधानीका नगरपालिकाले कारबाहीको दायरामा ल्याउन नसकेको सफाइ सक्रिय भएकाहरुको गुनासो छ। सार्वजनिक यातायातमा डस्टबिन नराख्दा पनि चक्रपथ र नदी फोहर हुने गरेको छ।
आलोकनगर सफाइको १०५औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिए। त्यस क्षेत्रमा घर दैलोसमेत गरी सडक एवं नदी किनारमा फोहर नफाल्न आग्रह गरिएको थियो। प्लाष्टिक जलाउने र ढल नदीमा हाल्ने कामको अन्त्य गर्न पनि सो अवसरमा आह्वान गरिएको थियो।
चक्रपथ वाफल खण्ड सफाइको ८७औँ हप्तामा कलङ्की चोकबाट सोल्टी दोबाटोसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएकाे छ। सफाइमा सुरक्षाकर्मी लगायत १ सय ५० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए।
सफाइका क्रममा काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका प्रमुख गुमानध्वज कुँवरले ६ महिनासम्म सफाइ अभियानकर्मीलाई पानी पिउने व्यवस्था गर्ने घोषणा गरे। २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएपछि देशभर सफाइ अभियानको जागरण आएको हो।
सफाइ महाअभियान सुरु भएको ५ वर्षसम्ममा पनि ठोसरुपमा काम हुन सकेको छैन। सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ। बागमती किनारमा सञ्चालन भएका सुँगुर बँगुर फार्म र सुकुम्बासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।