फलेवास, पर्वत – आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार यतिबेला प्रचारप्रसारमा सक्रिय छन्।
सदरमुकाममा भन्दा गाउँमा चुनावी चहलपहल बढेको छ । दैनिकजसो हुने कोणसभा, घरदैलो, आमसभाजस्ता गतिविधिले गाउँमा चुनावी चहलपहल ह्वात्तै बढेको हो।
जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दुईजना र प्रदेशसभा सदस्यका उम्मेदवार चारजनाले फरकफरक ठाउँमा गर्दै आएको कार्यक्रमले ग्रामीण क्षेत्रमा चुनावी रौनकता बढाएको छ।
वाम गठबन्धनबाट पदम गिरी र लोकतान्त्रिक गठबन्धनबाट अर्जुनप्रसाद जोशी प्रतिनिधिसभा सदस्यका उम्मेदवारछन्। । प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट नेत्र अधिकारी र लोकतान्त्रिक गठबन्धनबाट नवराज गुरुङ तथा प्रदेशसभा ‘ख’ बाट वाम गठबन्धनबाट विकास लम्साल र लोकतान्त्रिक गठबन्धनबाट राजेन्द्र तिवारी उम्मेदवार छन्। उनीहरुले तालिकाअनुसार फरकफरक ठाउँमा दैनिक चुनावी गतिविधि सञ्चालन गरिरहनुभएको छ।
मतदाता एकैछिन् घरको काम थाती राखेर उम्मेदवारका चुनावी एजेण्डा र उनीहरुका प्रतिबद्धता सुन्नका लागि सभामा आउने गरेका छन् । उम्मेदवार गाउँ पुग्दा मतदाताले आफ्ना समस्याको चाङ भिराउने गरेका छन्।
उनीहरुले सडक, बिजुली, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रका समस्या समाधानका लागि विभिन्न योजना माग गर्ने गरेका छन्।
“मतदाताले ठूला खालका योजना माग गरेका छन्,” वाम गठबन्धनका उम्मेदवार गिरीले बताए। चुनावमा विजय प्राप्त गरे वा नगरे पनि स्थानीयवासीका समस्या समाधान गर्न पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
जिल्लामा यही कात्तिक २२ गतेदेखि राजनीतिक दलले चुनावी प्रचारप्रसार अभियान थालेका हुन् । जिल्लाका सात स्थानीय तहका ६१ वटै वडामा कार्यक्रम तय गरेर उम्मेदवारहरु अभियानमा जुटेका छन्।
काँग्रेस र एमालेले आठ÷आठ वडामा आफ्नो कार्यक्रम सम्पन्न गरिसकेका छन् । उम्मेदवारले एक दिन एउटा वडामा कार्यक्रम र अर्को दिन घरदैलो कार्यक्रमको तालिका बनाएका छन्।
मतदाताले आ–आफ्नो गाउँसम्म पुग्ने सडक कालोपत्र तथा बाह्रैमास सवारीसाधन चल्ने बनाउन उम्मेदवारसँग माग गरेका छन्। गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सिँचाइलाई प्राथमिकतामा राखेर योजना बनाएको काँग्रेसकोतर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जोशी बताउछन्।
गाउँ अभियानमा जुटेका उम्मेदवारले मतदाताका योजना सुन्दै आफ्ना आश्वासन बाँडिरहेका छन् । आश्वासनलाई चुनाव जितेपछि कार्यान्वयनमा ल्याउनसकेमा मात्र मतदाताले परिवर्तनको अनुभूति गर्नसक्ने भोक्सिङका मतदाता दीपक गुरुङले बताए। अन्यथा जति सरकार र राजनीतिक नेतृत्व फेरिए पनि मतदाताका समस्या ज्यूँ का त्यूँ रहने उनको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।