काठमाडौं– बालुवाटारको सरकारी जग्गा व्यक्तिले हडपेको सार्वजनिक भएसँगै अब देशभर यस्ता जग्गाबारे खोजबिन हुने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिको नाममा सारिएका सरकारी जग्गा फिर्ता गराउन पहल सुरु गरेको हो।
मन्त्रिपरिषद्ले गृह र भूमि व्यवस्था मन्त्रालयलाई पत्र लेखी खोजबिन गर्न निर्देशन दिएलगत्तै भूमाफियाले हडपेको जग्गाबारे मन्त्रालयले खोजबिन प्रक्रिया सुरु गरेको हो।
भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रालयका सचिव र विभागीय प्रमुखसँग यस विषयमा छलफल चलाएकी छन्। गृह र भूमि व्यवस्था मन्त्रालयको समन्वय गरी आयोग गठन गर्नेबारे छलफल भएको मन्त्रालय स्रोतले बताएको छ।
बालुवाटारको ललिता निवासको जग्गा फिर्ता गर्न मन्त्रिपरिषद्ले गृह र भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको थियो। लगत्तै गृहले प्रहरीको अपराध अनुसन्धान ब्युरोलाई ललिता निवासको तथ्य पत्ता लगाउन निर्देशन दिएको थियो।
बालुवाटार स्थित ११३ रोपनी सरकारी जग्गा राजनीतिक पहुँचको आधारमा मालपोत कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा पुगेको थियो। त्यस्तै प्रकृतिले जग्गा व्यक्तिको नाममा नामसारी भएको ठानी मन्त्रालयले खोजबिन सुरु गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।