काठमाडौं– हवाई सेवा प्रदायक कम्पनीबाट प्राप्त चेकमा उल्लेख भएको रकम नेपाल नागरिक उड्डयन प्राधिकरणको बैंक खातामा नियतवस् जम्मा नगर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने महालेखाको ५६औं प्रतिवेदनमा उल्लेख छ।
तत्कालीन त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्याले मलेसियन एयर कम्पनी एयर एसियाको नेपाल प्रतिनिधि कम्पनीबाट प्राप्त चेक रिसिर्भ गरेपनि खातामा रकम आएको थिएन।
ती चेक हाल प्राधिकरणमा नरहेकाले बैंक खातामा रकम पनि जम्मा नभएका कारण प्राधिकरणलाई हानी नोक्सानी पुर्याउने कर्मचारीलाई कारबाही गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ।
प्राधिकरणमा २०७२/७३ र २०७३/७४ मा प्राप्त भएका मध्ये प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५ करोड २६ लाख ९ को चेक बैंक दाखिला नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
साथै महालेखाले एक हवाईसेवा प्रदायकबाट ल्याण्डिङ तथा पार्किङ शुल्कवापत् प्राप्त चेक प्राधिकरणले आय लेखांकन गरी जम्मा गर्न बैंकमा पठाएकोमा २०७२/०७३ को ५३ लाख ५३ हजार र २०७४/०७५ को रु ४ करोड ५० लाख समेत ५ करोड ३ लाख ५३ हजारको चेक बाउन्स भई बैंक खातामा जम्मा नभएको व्यहोरा २०७५ आषाढ मसान्तपछि हिसाब मिलान विवरण तयार गर्ने क्रममा मात्र जानकारी प्राप्त भएको महालेखाको प्रतिवेदन उल्लेख छ।
प्रत्येक महिना बैंक हिसाब मिलान नगर्ने, आम्दानी हिसाब अद्यावधिक नगर्ने र चेक बाउन्स भएकोमा समेत समयमै जानकारी प्राप्त नगर्ने अवस्था देखिएकोले चेक वाउन्स भएकोमा बैंकिङ कसुर सम्बन्धी कारबाही नचलाउने पदाधिकारीलाई समेत जिम्मेवार बनाई उक्त रकम असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।