काठमाडौं- जर्मनीको बनोमा रहेको नेपालको पूरानो दूतावास भवन १८ वर्षदेखि प्रयोग विहिन भएको र त्यसकै संरक्षणका नामम वार्षिक १० लाख खर्च हुने गरेको पाइएको छ।
शुक्रबार सार्वजनिक भएको महालेखापरीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदन अनुसार जर्मनी एकीकरण अघि पश्चिम जर्मनीको बोनमा दूतावासका लागि नेपाल सरकारको स्वामित्वमा रहेको २ वटा घर र सो घरले चर्चेको २ हजार ८ सय ४६ वर्गमिटर जग्गा प्रयोगविहीन अवस्थामा रहेको छ।
जर्मनी एकीकरणपछि नेपालको दूतावास सन् २००० मा बर्लिनमा सरेको थियो।
दूतावास सरेसँगै बोनमा रहेको भवन र त्यसले चर्चेको जग्गा अहिलेसम्म कुनै प्रयोगमा नआएको र उक्त घरको पालो पहरा विद्युत र पानीको महसुलका लागि वार्षिक १० लाख खर्च हुने गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
घरको पहरा र विद्युत, पानीको महसुलका लागि आर्थिक वर्ष २०७४/७५ मा मात्रै १० लाख ४२ हजार ८३ रुपैयाँ भुक्तानी भएको पाइएको छ।
विगत १८ वर्षमा प्रत्येक वर्ष औसत ८ लाख रुपैयाँका दरले १ करोड ४४ लाखभन्दा बढी रुपैयाँ राज्यको खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।