काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने बताएका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार नेपालले निर्वाचनमा वाम गठबन्धनको चुनावी तालमेल पार्टी एकताको पहिलो चरण भएको भन्दै चुनावपछि एकीकरण हुने दाबी गरे।
दोलखा–काठमाडौं बुद्धिजीवी परिषद् एकता संयोजन समितिले आयोजना गरेको बुद्धिजीवी भेलामा नेता नेपाललले निर्वाचनपछि वाम गठबन्धनले दुई तिहाइको सरकार बनाएर देशलाई समाजवादतर्फ लैजाने बताए।
'पहिला-पहिला कम्युनिस्टको सरकार आएपछि बूढाबूढीलाई मार्छ भन्दै हिँडेको कांग्रेस अहिले अधिनायकवाद आउँछ भनी प्रचार गर्दै हिंडेको छ', नेता नेपालले भने।
कांग्रेसका कारण देशको आर्थिक अवस्था बिग्रिएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले अब कम्युनिस्टको सरकारले देशको विकास र समृद्धि ल्याउने जिकिर गरे।
भेलामा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिस्ट गठबन्धनको सरकार बनेपछि नमूना विकासमार्फत देशमा समाजवादी व्यवस्था लागू गरिने बताए।
कार्यक्रममा वाम गठबन्धन दोलखा चुनावी परिचालन कमिटीका संयोजक आनन्दप्रसाद पोखरेल, माओवादी केन्द्रका नेता बलराम थापा लगायतले वाम गठबन्धनलाई दुई तिहाइका साथ जिताउन आग्रह गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।