काठमाडौं- महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले नेपालको मोबाइल सेवा विश्वकै महङ्गो भएको टिप्पणी गरेको छ।
दूरसञ्चार सेवा प्रदायक कम्पनीले अत्यधिक नाफा कमाउने भएकाले प्रयोगकर्ताहरु मारमा परेकोसमेत सो प्रतिवेदनले उजागर गरेको छ।
विश्वभर दूरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफा २४ देखि ३७.८ प्रतिशतसम्म रहेकोमा नेपालका सेवाप्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ।
नेपाल टेलिकमले ५८ र एनसेलले ६२ प्रतिशत नाफा आर्जन गरेको छ।
ती सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य निर्धारणमा नाफाको अंश अधिक रहेको प्रतिवेदनमा उल्लेख छ।
यसरी सञ्चालन नाफामा अत्यधिक अन्तर हुनुको औचित्यता सम्बन्धमा नियमनकारी निकायले विश्लेषण नगरेको भन्दै महालेखाले महंगो मूल्यमा सेवा लिनु पर्दा उपभोक्ताको हित संरक्षण हुन नसकेको टिप्पणी गरेको छ।
यस्ता सेवा प्रदायकको मूल्य निर्धारणको आधारबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा निरन्तर अनुगमन गरी गुणस्तर र मूल्य नियमन गर्न पनि प्रतिवेदनमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।