काठमाडौं– बक्यौता नतिरी हवाई सेवा बन्द गरी जहाज फिर्ता लैजान दिने नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई जिम्मेवार बनाउन महालेखा परीक्षकको कार्यालयले सरकारलाई सुझाव दिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले मलेसियन निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसियालाई २१ करोडभन्दा बढी बक्यौता हुँदा पनि रकम भुक्तानी नगरी जहाज नेपालबाट लैजान दिएको थियो। एयर एसियाले गत असोज २७ गतेदेखि नेपालमा उडान बन्द गरेको थियो।
मलेसियन दूतावासको प्रतिबद्धतामा बक्यौता रकम चुक्ता गर्ने प्रतिबद्धता अनुसार एयर एसियाले जहाज नेपालबाट लगेको थियो। तर, आजसम्म पनि उसले बक्यौता तिरेको छैन।
एयर एसियाले विमानस्थल विकास शुल्क ६ करोड ५२ लाख एवं ल्यान्डिङ, पार्किङ र सञ्चार शुल्क १५ करोड ३४ लाखसमेत गरी विमानस्थल कार्यालयलाई २१ करोड ८६ लाख रुपैयाँ तिर्न बाँकी छ। यसरी रकम नतिरी जहाज लैजान दिने प्राधिकरणका सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्ने महालेखाको ५६ औं प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।