नेपालगञ्ज– मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका प्लास्टिक सर्जन डा विनोद कर्ण करिब ५ लाखको आकर्षक जागिर छाडेर चुनावी मैदानमा उत्रेका छन्।
एक वर्षयता नेपालगञ्जमा सरसफाइ अभियानमा सक्रिय रहँदै आएका डा कर्ण राजनीतिमा पनि स्वच्छता आवश्यक रहेको ठहर गर्दै यो चुनावमा उम्मेदवार बनेका छन्। आकर्षक जागिर छाडेर विवेकशील साझा पार्टीमा आबद्ध भएका उनी बाँके क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेरवार भएका हुन्।
सन् २००१ देखि २०१२ सम्म राजधानीका विभिन्न अस्पतालमा प्लास्टिक सर्जनका रुपमा काम गरेका डा कर्ण त्यसपछि गृहजिल्लामै केही गर्ने सोचले नेपालगञ्ज फर्किए । करिब ८ वर्ष नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा काम गरे।
पछिल्लो साढे एक वर्षदेखि डा कर्ण चिकित्सासँगै सामाजिक अभियानमा जुट्दै साथीहरुसँग मिलेर ‘क्लिन नेपालगञ्ज ग्रीन नेपालगञ्ज’ अभियान अन्तर्गत नगर क्षेत्रमा सरसफाइ र वृक्षरोपणमा सक्रिय रहँदै आएका छन्।
सरसफाइ अभियान ६३ हप्तामा पुगिसक्दा उनले राजनीति नसुध्री केही हुँदैन भन्ने निष्कर्ष निकाल्दै विवेकशील साझा पार्टीमार्फत जनतामाझ आएका हुन्।
राजनीतिमा प्रवेश गर्नुको कारण र चुनावी एजेन्डाबारे डा कर्णसँग नेपाल लाइभका लागि कृष्ण अधिकारीले गरेको कुराकानीः
आकर्षक जागिर छोडेर किन राजनीतिमा लाग्नुभयो?
मेरो उमेर ५० वर्ष भयो। मैले १८ वर्षसम्म प्लास्टिक सर्जनको रुपमा बिरामीको सेवा गरेँ। करिब २५ हजार त अपरेसन गरेँ। आफ्नो लागि मात्रै कति गर्ने, देश र जनताका लागि पनि केही गरुँ भन्ने सोच आएर मैले नेपालगञ्जमा साथीहरुसँग मिलेर ‘क्लिन नेपालगन्ज ग्रीन नेपालगञ्ज’ अभियान सुरु गरेँ। आफैं झाडु बोकेर नगर क्षेत्रको सरसफाइ गरेँ, वृक्षरोपण गरेर हरियाली अभियानमा सक्रिय भएँ। सरसफाइ अभियानमा सक्रिय हुँदा मैले धेरै बुझ्ने र सिक्ने मौका पाएँ। हाम्रो देशमा प्रशस्त सम्भावना र अवसर भए पनि त्यसको सदुपयोग हुन सकेको छैन। प्रस्ट भिजन र प्रतिबद्धता भएका राजनीतिक पार्टी र नेताहरु नहुँदा आम सर्वसाधारण जनताले धेरै कष्ट र हैरानी खेप्नुपरेको छ।
हामी ठूला पार्टी र नेताहरुले गर्न सकेनन्, भ्रष्ट भए भनेर गुनासो मात्रै गरिरहेका छौं। गुनासो गरेर सुध्रिने अवस्था देखिएन । गुनासो गरेर समय खेर फाल्नुभन्दा आफैं राजनीतिमा होमिएर राजनीतिलाई नै सही दिशा ल्याई हाम्रै पालामा सुशासन र समृद्धि ल्याउन सम्भव छ भन्ने निष्कर्षका साथ राजनीतिमा होमिएको हुँ। अब राजनीतिमार्फत समाजको अपरेसनमा केन्द्रित हुनेछु।
देशमा व्याप्त विकृति र विसंगतिलाई हटाएर सुशासन र समृद्धि ल्याउन सम्भव छ त?
सम्भव छ। त्यसका लागि ठोस प्रतिबद्धता र प्रस्ट भिजन आवश्यक छ। असल र इमान्दार मान्छेहरुलाई प्रोत्साहन गर्न आवश्यक छ। जो भ्रष्ट छ, त्यसैलाई ठूलो मान्छे देख्ने र त्यसकै वरिपरि झुम्मिएर जी–हजुरी गर्ने प्रवृत्ति अन्त्य गरेर अगाडि बढ्नुपर्छ। सुरुका पाँच/सात वर्ष केही गाह्रो होला, तर सम्भव छ। त्यसका लागि पढेलेखेका र भिजन भएका इमान्दार मानिसहरु पनि राजनीतिमा आउनुपर्छ र राजनीतिलाई सही बाटोमा ल्याउनुपर्छ।
एउटा नाम चलेको डाक्टर आकर्षक जागिर छोडेर चुनावी मैदानमा उत्रिँदा कस्तो प्रतिक्रया पाइरहनुभएको छ?
धेरै जनाले यो के गरेको, किन डाक्टरी जागिर छोडेर उम्मेदवार भएको भनेर प्रश्न गरिरहेका छन्। मैले आफ्ना विचार सुनाएपछि कुरा ठीकै हो भन्ने प्रतिक्रिया दिँदै शुभकामना पनि दिइरहेका छन्।
नेपालगञ्जको शहरी क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ। के छन् त तपाईंका एजेन्डा?
मेरो पहिलो एजेन्डा त ‘क्लिन नेपालगन्ज, ग्रीन नेपालगञ्ज’ नै हो। अत्यधिक गर्मी हुने हाम्रो शहर निकै फोहोर छ। हरियाली कम छ। यसैले शहरमा हरियाली बढाउने, फोहोरमैलाको व्यवस्थापन गरेर शहरलाई सफा र हराभरा बनाउने, शहरमा कम्तीमा ३/४ वटा पार्क निर्माण गर्ने, ढल निकासको व्यवस्था गरेर डुबानमुक्त गराउने, सडकहरुको मर्मत सम्भार र स्तरोन्नति गरेर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, गुणस्तरीय स्वास्थ्य र शिक्षामा सबैको पहुँच बढाउने मेरा प्रमुख एजेन्डा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।