चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले निर्वाचन भाँड्न खोजेको आरोप लगाएका छन्।
पेशागत महासंघ नेपाल चितवन शाखाले भरतपुरमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नै एकथरी मान्छे प्रयोग गरेर चुनाव भाँड्ने षड्यन्त्र गरिरहेको बताए।
रुकुम घटनामा हतियारधारी जत्था पक्राउ पर्दा नेपाली कांग्रेसका बहालवाला मन्त्रीले विज्ञप्ति जारी गरेर छोड्नुपर्छ भन्नु र विगत केही दिनयता उम्मेदवारमाथि शृंखलागत आक्रमण हुनुले निर्वाचन भाँड्ने षड्यन्त्र भएको दाहालले बताए।
रुकुममा जनार्दन शर्मा, रोल्पामा प्रदेशसभाका एक उम्मेदवार, शनिबार बिहान मात्रै पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्षित गरी रोल्पामै माइन विस्फोट गराइएको भन्दै अध्यक्ष दाहालले यस्ता घटना निन्दनीय रहेको उल्लेख गरे।
यस्ता घटनाका पछाडि के उद्देश्य छन् भन्ने कुरा एक-दुई दिनमै थाहा हुने उनले बताए। उनले एकथरी मान्छेलाई प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्ने वातावरण सरकारले गर्छ भने त्यो गम्भीर भूल हुने समेत बताए।
अहिले देश फरक राजनीतिक परिघटनामा रहेको भन्दै अध्यक्ष दाहालले सफल ढंगले निर्वाचन गराउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।