काठमाडौं– भारतमा काम गर्न गएका तीन नेपाली मजदुरको रहस्यमय मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको शान्तिनगर नगरपालिका–२ अमुवाका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वली छन्।
गत मंसिर १४ गते उनीहरु तीन जनासहित सोही ठाउँका २२ वर्षीय इन्द्रबहादुर विक, छायाक्षेत्र गाउँपालिका–३ दीपखाना सल्यानका २९ वर्षीय सेवक थापा र उनकी श्रीमती २२ वर्षीया अमृता थापासहित ६ जनालाई शान्तिनगर–२ कै ४६ वर्षीया जाइफल मिया (मेट) ले लेभर कामका लागि भनेर भारतको हिमाचल प्रदेश लगेका पुर्याएका थिए।
उनीहरु हिमाचलको कुल्लुमनालीतर्फ गएको थिए। त्यसबेला पूर्णबहादुर वली हराएको भनेपछि प्रहरीले खोजी सुरु गरेको थियो।
प्रहरीले उनीहरुलाई खोजी गर्ने क्रममा नोखिराम भण्डारी र प्रकाश वलीलाई मृत अवस्थामा प्रहरीले चैत १० गते कुल्लुमनालीको भिरमुनि फेला पारेको थियो।
उनीहरु दुवै जनाको शव प्रहरीले नेपाल ल्याई आफन्तलाई समेत बुझाएको थियो। हराएका अर्का व्यक्ति पूर्णबहादुर वलीको खोजी भने जारी थियो।
उनको पनि शव चैत २५ गते कुल्लुमनालीको पतलीकुहलको जंगलमा प्रहरीले फेला पारेको थियो। हिजो बिहीबार शव दाङ ल्याई आफन्तलाई बुझाउन खोज्दा मृत्यु संकास्पद भन्दै शव बुझ्न नमानको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनीहरुलाई काम गर्न भारत लैजाने जाइफल मियाले समेत शव बुझ्न नमानेको प्रहरीले जनाएको छ।
शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ।
पूर्णबहादुरको शव भने सडिसकेको अवस्थामा फेला परेको दाङका एसपी बेलबहादुर पाण्डेले बताएका छन्। जंगलमा चिसोले कठ्यांग्रिएर मृत्यु भएको हुनसक्ने भारतीय प्रहरीले जनाएको छ भने अन्य दुई जनाको शव कुनै चोटपटक नलागेको अवस्थामा भिरमा फेला परेको थियो।
दुई जनाको शव पहिल्यै भेटिएको सड्न पाएको थिएन। पूर्णबहादुरको शव सडिसकेका कारण उनको पनि अन्य दुई जनासँगै रहस्यमय मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
जाइफललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी अधिकृतसहित, स्थानीय जनप्रतिनिधि र पीडित परिवारका सदस्यहरु भारत जान लागेको प्रहरीले जानकारी दियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।