काठमाडौं- मदिरा सेवन गरी होहल्ला गरेका कारण धेरै नेपाली कामदार विदेशका जेलमा पर्ने गरेका छन्।
पसिनासँग सानो मूल्य साट्न खाडीलगायत विभिन्न मुलुक पुगेका श्रमिकले त्यहाँको नीतिनियमबारे राम्रोसँग नबुझी जथाभावी मदिरा सेवन गर्दा जेल पर्ने गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
बोर्डका अनुसार हालसम्म कुबेत, कतार, युएई, साउदी अरब, ओमन, बहराइनलगायत ७ वटा मुलुकमा ५ सय ४५ नेपाली कामदार जेल जीवन बिताइरहेका छन्।
वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदी भन्छन्, 'धेरैजसो युवाकै लापरबाहीका कारण जेलजीवन बिताउन बाध्य छन्। आफन्तहरु भेला हुने सार्वजनिक ठाउँमा बसेर मदिरा सेवन गरी होहल्ला गर्ने धेरै नेपाली जेलजीवन बिताउन बाध्य छन्।
‘श्रमिकहरु के कारणले जेल परे? सामान्य कारणबाट जेल परेका नेपाली कामदारलाई जेलमुक्त गर्न कसरी कुटनीतिक पहल गर्न सकिन्छ भन्नेबारे बोर्डले बुझिरहेको छ,’ उनले भने।
कतिपय अवस्थामा जेल परेका नेपाली कामदारले आफ्नो केही गल्ती नभएको र चोरीलगायतका विभिन्न आरोपमा जेल पुर्याइने गरेको गुनासो आउने गरेको सुवेदीको भनाइ छ।
सबैभन्दा बढी मलेसियाका जेलमा
मलेसियाको जेलमा २ सय ५ जना नेपाली कामदार रहेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ। जसमा पनि धेरै नेपाली कामदार मदिरा सेवन, विभिन्न आरोप र कारण नखुलेका कामदार रहेका छन्।
मलेसियापछि युएईका जेलमा १ सय ८५ जना कामदार छन्। युएईको जेलमा २७ कामदारको सूचना अद्यावधिक नभएका ५ कामदार जेलबाट बाहिर निस्केको बोर्डले जानकारी दिएको छ।
कुबेतका जेलमा ५८ जना नेपाली कामदार छन्। साउदी अरबको जेद्धा र रियाद सहरमा गरेर ५४ जना कामदार जेलमा छन्।
कतारका जेलमा ३५ जना छन् भने बहराइनमा ५ र ओमनका जेलमा ३ जना नेपाली छन्।
जेल पर्ने ५ सय २६ पुरुष, १९ महिला
जेल पर्ने नेपाली कामदारमा ५ सय २६ जना पुरुष र १९ जना महिला छन्। कुबेतमा ५५ पुरुषसहित ३ जना महिला कामदार जेलमा छन्। युएईका जेलमा १२ जना महिलासहित १ सय ७३ पुरुष जेलमा छन्।
मलेसियामा २ जना महिलासहित २ सय ३ पुरुष जेलमा छन् भने ओमनमा २ महिलासहित ३ जना नेपाली जेलमा छन्।
साउदीमा जेल परेका नेपाली सवारी चालक बढी
साउदीको रियाद र जेद्धा स्थित ५४ जना नेपाली जेलमा रहेको बोर्डले जनाएको छ।
साउदीमा धेरैजसो सवारी चालक जेलमा पर्ने गरेका छन्।
साउदीको ट्राफिक नियम राम्रोसँग नबुझी सवारी चलाउँदा, मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटना भई जेल पर्ने गरेको बोर्डले जनाएको छ।
‘धेरै चालक नेपालजस्तो सोचेर मदिरा सेवन गरी लापरबाहीका साथ सवारी चलाउँछन्। जसकारण जेलमा पर्छन्,’ बोर्डका सूचना अधिकारी सुवेदी भन्छन्।
चालकबाहेक साउदीमा लेबरलगायत विभिन्न कामका लागि पुगेका नेपाली कामदारहरु पनि चोरी लगायत विभिन्न आरोपमा जेल पर्ने गरेका छन्।
यसअघि विभिन्न अभियोगमा साउदीका जेलमा रहेका १ सय २९ कामदार विभिन्न संघसंस्थाले नेपाल फर्काएको बोर्डले जनाएको छ। कुन समयमा कति फर्काइए भन्ने तथ्यांक भने बोर्डसँग छैन।
गन्तव्य मुलुक ज्ञान नहुँदा जेल
आफू रोजगारीमा गएको मुलुकको नीतिगत ज्ञान नहुँदा धेरै नेपाली कामदार जेल जान बाध्य भएको स्वीकार गर्छन् बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदी।
'धेरै नेपालीलाई सम्बन्धित मुलुकको नीतिगत ज्ञान नहुँदा जेलपर्ने गरेका घटनाहरु पनि धेरै छन्,’ उनी भन्छन्।
रोजगारीमा जाने नेपालीलाई गन्तव्य मुलुकका बारेमा जानकारी दिन सरकारले अभिमुखीकरण तालिमको व्यवस्था गर्दै आएको छ। तर सो तालिमले प्रभावकारी भूमिका भने खेल्न सकेको छैन।
सुवेदी भन्छन्, ‘हामीले श्रमिकलाई अभिमुखीकरण तालिम त दिइरहेका छौं। तालिममा जाने कामदारले सम्बन्धित देशको नीतिगत व्यवस्था, भाषा, रहनसहन लगायतका बारेमा जानकारी दिइरहेका छौं।’
वैदेशिक रोजगारीमा जाने युवाको शारीरिक, मानसिक र आर्थिक सुरक्षाका लागि अभिमुखीकरण तालिमको निकै महत्व रहन्छ।
वैदेशिक रोजगार ऐन २०४२ को कार्यान्वयनका लागि आएको वैदेशिक रोजगार नियमावली २०५६ अनुसार वैदेशिक रोजगारीमा जानु पूर्व अभिमुखीकरण तालिमको व्यवस्था गरिएको थियो।
त्यसपछि ‘वैदेशिक रोजगार अभिमुखीकरण दिग्दर्शन २०६०’ नेपाल सरकार तथा श्रम मन्त्रालयले कार्यान्वयनमा ल्याएको थियो।
सोही अनुसार २०६० कार्तिक ३ गतेदेखि व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर जाने कामदारहरुका लागि र २०६० माघ १५ गतेदेखि संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि अभिमुखीकरण तालिम लिई प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको थियो।
वैदेशिक रोजगार बोर्डका अनुसार हाल १ सय १६ वटा अभिमुखीकरण संस्था काठमाडौं उपत्यकामा र ४२ वटा अभिमुखीकरण संस्था उपत्यका बाहिरका विभिन्न जिल्लामा छन्।
रोजगारीका लागि विदेश जाने कामदारले वैदेशिक रोजगार ऐन २०६४ को दफा २७ बमोजिम अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने उल्लेख छ।
सरकारले श्रमिकलाई उपलब्ध गराउँदै आएको एक दिने अभिमुखीकरण तालिमले नपुग्ने भन्दै बोर्डले श्रम मन्त्रालयलाई तालिम सम्बन्धी नीति परिमार्जनका लागि प्रस्ताव गरेको जनाएको छ।
अभिमुखीकरण तालिम प्रभावकारी बनाउन वैदेशिक रोजगारमा जाने श्रमिक तिन दिन अनिवार्य कक्षामा उपस्थित हुनुपर्ने व्यवस्था गर्न लागिएको बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।
‘अभिमुखीकरण तालिमसम्बन्धी पाठ्यक्रम परिमार्जन गर्न र छुट्टै देशका लागि छुट्टै पाठ्यक्रम निर्धारण गर्न हामीले मन्त्रालयमा प्रस्ताव राखेका छौँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।