काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले २४ घन्टे स्पष्टीकरणपत्र बुझाएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसमक्ष क्षेत्रीले स्पष्टीकरण बुझाएका हुन्। उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) जारी भइसकेपछि उडान अनुमति दिन नपाइने अवस्थामा क्षेत्रीले गत मंगलबार राति १०:१७ मा फ्लाई दुबईको बोइङ ७३७ विमानलाई उडान अनुमति दिएपछि उनलाई छुट्टाछुट्टै स्पष्टीकरण सोधिएको थियो।
क्षेत्रीलाई गत १९ गते ४ मिनेट ढिलो हुँदा नेपाल एयरलाइन्सको दुबई उडान रोकेको विषयलाई जोडेर फ्लाई दुबईलाई किन उडान दिइएको भनेर प्रश्न सोधिएको थियो। विमानस्थल टावर कन्ट्रोलले नेपाल एयरलाइन्सले २ सय ७४ यात्रु रहेको वाइडबडी जहाजलाई नोटाम जारी भएको भन्दै उडान रोकेको थियो।
स्पष्टीकरणमा क्षेत्रीले नेपाल एयरलाइन्सको विमान रोक्दा आफू हङकङ रहेको र फ्लाई दुबईलाई उडानको अनुमति आफैले दिएको स्विकारेका छन्। नेपाल एयरलाइन्सको विमान रोक्दा यात्रुले भोगेको सास्तीलाई मध्यनजर गर्दै दुबईको अनुमति दिइएको जवाफ दिएका छन्। उडान अनुमति दिँदा आफूले रनवे पिचको काम गरिरहेको कम्पनी प्रतिनिधिसँग सोधेर अनुमति दिएको पत्रका उल्लेख गरेका छन्।
नोटाम जारी भएको अवस्थामा विमानस्थलमा आकस्मिक उडान अवतरणसाथै थप उडान गर्नुपरेमा प्राधिकरण महानिर्देशकको अनुमति लिएर मात्रै गर्नुपर्ने हुन्छ। तर, विमानस्थल कार्यालयले नेपाल एयरलाइन्सको जहाज रोक्दा र फ्लाई दुबईको जहाजलाई उडान अनुमति दिँदा प्राधिकरण महानिर्देशकसँग अनुमति लिएको थिएन।
रनवे पिच परिवर्तनका लागि गत चैत १८ गतेदेखि विमानस्थलका सबै उडान अवतरण राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुनेगरी अन्तर्राष्ट्रिय उड्डयन नियम नोटाम जारी भइसकेको छ।
मन्त्रालय स्रोतका अनुसार क्षेत्रीलाई प्राधिकरण मुख्य कार्यालयमै तान्ने तयारीसमेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।