काठमाडौं– व्यापारी अजेयराज सुमार्गीसँग जोडिएका दुई मुद्दा सर्वाेच्च अदालतमा बिहीबार सुनुवाइ हुँदैछन्। मुक्ति श्री सिमेन्ट र नेपाल स्याटालाइट टेलिकमका लागि भन्दै भित्र्याएको रकमको स्रोत नखुलेको भन्दै नेपाल राष्ट्र बैंकले रकम रोक्का राखेको थियो। त्यसका विरुद्ध सुमार्गी सर्वोच्च पुगेका थिए।
उक्त दुवै विवादस्पद मुद्दा हुँदै आएका छन्। सर्वोच्चले दुवै मुद्दामा अन्तरिम आदेश समेत जारी गरेको छ।
सुमार्गीको मुक्ति श्री सिमेन्टका लागि भित्र्याएको रकम विवादमा सर्वोच्चले नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा पुनः रकम जम्मा गर्न आदेश गरेको थियो।
टेलिकमको रकमका बारेमा पनि सर्वोच्चले बैंकमा रोक्का रहेको रकम खुल्ला गर्न आदेश गरेको थियो।
दुवै मुद्दा प्रधान न्यायाधीश चोलेन्द्र समशेर राणाको इजालाशमा पेशी रहेको छ।
सिमेन्ट कम्पनीको रकम विवाद फैसलाको अवस्था रहेको छ भने टेलिकमको लगानी विवाद अन्तिम सुनुवाइ सुरु हुँदै छ।
प्रधानन्यायाधीश राणालाई बमकुमार श्रेष्ठ र टंक मोक्तानले इजलाशमा साथ दिनेछन्।
व्यापारी सुमार्गीले मुक्ति श्री सिमेन्टका लागि भन्दै विदेशबाट भित्र्याएको रकम राष्ट्र बैंकले रोक्का गरेपछि यसअघि एकल इजलासबाट अल्पकालीन आदेश गराउँदै उनले झिकेका थिए।
प्रधानन्यायाधीश सहितको पूर्ण इजलासले उनले झिकेको रकम शंकास्पद देखिएको भन्दै जम्मा गर्न आदेश गरेको हो। तर रकम हालसम्म जम्मा भने हुन सकेको छैन।
सर्वाेच्चको पूर्ण इजलासले यो रकमलाई विवादित समेत भनेको थियो। सर्वाेच्चले अन्तिम फैसला बिहीबार सुनाएर उक्त रकम वैधानिक हो वा होइन भन्ने निकास दिने छ।
सर्वोच्चले रकमको स्रोत नखुलेकाले राष्ट्र बैंकले गरेको रोक्कालाई सदर गरेमा सुमार्गीले रकम निकाल्न पाउने छैनन्। तर सुमार्गीको पक्षमा फैसला गरेमा रकम चलाउन पाउने छन्। सुमार्गीको विपक्षमा फैसला भएमा उनले रकम पुनः जम्मा गर्नुपर्ने छ र उक्त रकम राज्यले कब्जामा लिन पाउने छ।
प्रधानन्यायाधीश राणा र आनन्दमोहन भट्टराईको इजलासले यसअघि एकल इजलासबाट जारी भएको अन्तरिम आदेश त्रुटिपूर्ण भन्दै अन्तरिम आदेश खारेज हुने निर्णय पुस २४ गते सुनाएको थियो।
पुस १० गते न्यायाधीश दीपकराज जोशीको इजलासले सुमार्गीको मुक्ति श्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम नरोक्नू भनी अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको अन्तरिम आदेश जारी भएलगत्तै सुमार्गीले २ अर्ब रकम नेपाल इन्भेष्टमेन्ट बैंकबाट पुस २१ गते निकालेका थिए।
राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएपछि सुमार्गी मुक्ति श्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीको रकम भन्दै सर्वोच्च पुगेका थिए।
सर्वोच्चको आदेशपछि रकम दिन आनाकानी गर्दा अपहेलना मुद्दामा जान बाध्य नपार्न भनेपछि बैंकले रकम खुला गरिदिएको हो।
सुमार्गीको लगानीमा सञ्चालित मुक्ति श्री सिमेन्ट उद्योग प्रालिको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
सुमार्गीले यस पटक ८३ करोड २५ लाख र यसअघि २ अर्ब २५ करोड रुपैयाँ लगिसकेको राष्ट्र बैंक स्रोतले जनाएको छ। सुमार्गीको खातामा पटकपटक रकम जम्मा हुने भएकाले त्यसैमध्ये २ अर्ब रुपैयाँभन्दा बढी उनले निकालेका हुन्।
सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न ४ करोड ५० लाख अमेरिकी डलर (करिब पाँच अर्ब रुपैयाँ) खातामा जम्मा पारेका थिए।
खातामा जम्मा भएको रकममध्ये ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) राष्ट्र बैंकले रोक्का गरेको थियो। उद्योगका लागि जम्मा गरेको रकम भुक्तानी दिन बैंकले रोकेकाले उद्योग धरासायी हुन लागेको दाबीसहित उनले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। मुक्ति श्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले पुस ३ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।