काठमाडौं– पर्सामा सामूहिक बलात्कारमा परेकी एक किशोरीले अपहरण गरी आफूलाई उखुखेतमा पुर्याएर सामूहिक बलात्कार भएको जाहेरी दिएकी छिन्। उनले दुई युवकले मुख छोपेर मोटरसाइकलमा राखी उखुखेतमा पुर्याएको र सामूहिक बलात्कार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा दिएकी हुन्।
पर्साको सखुवा पसौनी गाउँपालिका वडा नम्बर-२ मा गत कात्तिक ११ गते १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। बलात्कारका क्रममा स्थानीय दुई जनाले देखेपछि घटना बाहिर आएको थियो। पैसा दिएर घटना लुकाउन गत १५ गते छलफल भएको थियो। जसक्रममा अभियुक्तमध्ये एक मुक्तार अन्सारीले किशोरी र उनकी आमामाथि कुटपिट गरेका थिए। कुटपिटपछि उनीहरु घाइते भएका थिए। त्यसपछि मात्र घटनाको प्रहरीमा उजुरी परेको थियो। मुक्तार र अन्सारी मियाँविरुद्ध किटानी जाहेरी परेको छ।
ढिलो उजुरी आउँदा अभियुक्त भागेः प्रहरी
घटनाको ६ दिनपछि मात्र जाहेरी परेको प्रहरीले जनाएको छ। ढिला उजुरी पर्दा अभियुक्तहरु भाग्न सफल भएको पर्सा प्रहरी प्रमुख डा गणेश रेग्मीले बताए। उनले भने, 'सखुवा पसौनी गाउँपालिका वडा नम्बर ४ का अध्यक्षका छोरा ३५ वर्षीय मुक्तार अन्सारी र अन्सारी मियाँविरुद्ध जाहेरी परेको छ। दुवै जना फरार छन्।' मुक्तार वडा ४ का अध्यक्ष जमुद्दिनका छोरा हुन्। असोज २ मा भएको स्थानीय तहको निर्वाचनमा जमुद्दिनले स्वतन्त्र उम्मेदवारका रुपमा जितेका हुन्।
अभियुक्तहरु गाउँका धनी र पहुँचवाला भएकाले घटना गाउँमै मिलाउने प्रयास भएको थिए। छलफलका क्रममा अभियुक्त पक्षले उल्टै कुटपिट गरेर किशोरी र उनका आमालाई घाइते बनाएपछि घटना प्रहरीमा पुगेको हो।
अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार पीडित किशोरीको दुई पटक बिहे भएकोमा दुवै जनासँग छोडपत्र भएको थियो। उनको परिवारको आर्थिक अवस्था पनि कमजोर भएको र श्रीमानलाई पनि छाडेकाले उनलाई सहयोग गर्ने आश्वासन दिएर दुई युवकले आर्थिक प्रलोभनमा पारी शारिरीक सम्बन्ध राखेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी डा रेग्मी कसैले प्रभावमा पारेर शारिरीक सम्बन्ध राखे पनि त्यो बलत्कार ठहर्ने बताउँछन्। ‘प्रहरीमा ढिलो जाहेरी आएकाले अभियुक्तहरु भाग्न सफल भए,' एसपी रेग्मी भन्छन्, ‘जाहेरी दर्ता भइसकेको छ, अभियुक्तहरु भागेका छन्, छिट्टै पक्राउ पर्नेछन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।