चितवन– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेका पढेलेखेका पुस्ताले नेपाललाई झनै सखाप पारेको बताएका छन्।
चितवनको माडीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– 'नपढेका बाआमाले हामीलाई कस्तो राम्रो देश दिएका थिए। मीठो खाद्यान्न दिएका थिए। स्वाधिन नेपाल दिएका थिए। हामी पढेलेखेका र जान्ने सुन्नेहरुले सखापै पो पार्यौं।'
उनले केहीबेर अघिल्लो पुस्ताको प्रशंसा र नयाँ पुस्ताको आलोचना गरेका थिए।
'आजभन्दा ४०/५० वर्ष अगाडि नेपालमा शिक्षितहरुको जनसंख्या अहिलेभन्दा धेरै कम थियो। स्कुल कलेजहरु पनि थोरै थिए। शिक्षा नीतिमा अहिलेजस्तो बहस र परिमार्जन थिएन। तर खाद्यान्नमा आत्मनिर्भर थियो। बरु हामी खाद्यान्न निर्यात गर्थ्यौं', उनले भने।
उनले नपढेका बाआमाले, बाजेबराजुले देशलाई राम्रोसँग रक्षा गरेको भन्दै प्रशंसा गरे।
'बैरीहरुबाट देशको स्वाधिनता र स्वभिमानको राम्रोसँग रक्षा पनि गरेका थिए। लडेर वीरताको ठूल्ठूला कीर्तिमान कायम गरेका थिए। दस नंग्रा खियाएर नेपालीलाई पुग्नेभन्दा बढी फलाएका पनि थिए। ती सबै अर्ग्यानिक थिए। खाएर अहिलेजस्तो विभिन्न रोग लाग्दैन थिए', प्रचण्डले भने, 'अहिले हामी धेरै पढेलेखेका भयौं। शिक्षित भयौं। जान्ने सुन्ने भयौं। तर हामी खाद्यान्न आयात गर्छौं। विभिन्न देशबाट अरबौंको खाद्यान्न, फलफूल, माछा आयात गर्छौं।'
'हाम्रा पढेलेखेका युवाहरु सबै विदेश जान थाले। यहाँ बच्चाबच्ची र बुढाबुढी मात्रै रहन थाले। बाँकी रहेकाहरु पनि विदेश जानको लागि भिसा लगाउनेतिरै ध्यान छ। के पढियो त हामीले? यत्रो पढेर के बनाइयो त नेपाललाई? अब यही तरिकाले जाने हो भने त हामी त भिखारी हुनेतिर पो जाने भयौं त', उनले भने।
उनले अब शिक्षाका बारेमा सोच्नुपर्ने बताए। 'अन्त सोचेर हुँदैन', उनले भने, 'सोच्ने भनेको दिमागले नै हो। त्यसैले हामी शिक्षाबारे सोच्नुपर्छ। यसमा आमुल सुधार नगरीकन हामीले आत्मनिर्भर, स्वाधिन, समृद्ध र सुखी नेपालीको कुरालाई चरितार्थ गर्न सकिँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।