एउटा लेखक शब्दको माध्यमले खुसी बेच्छ। कुण्ठा बेच्छ। आँसु बेच्छ।
कलाकार अभिनय बेच्छ। गायक आफ्नो गलाको माध्यमले स्वर बेच्छ। शिक्षक ज्ञान बेच्छ। पसले सामान बेच्छ।
यसलाई हामी हाम्रो पसिना भन्छौं, मिहिनेत भन्छौं।
हरेक मान्छेले आ-आफ्नो हैसियत अनुसार पैसासँग सीप विनिमय गर्छ। आफ्नो जीवन चलाउन हरेक मान्छे एकुन्टा धन्दामा जिन्दगी अर्पण गर्छ। यस्तै केही माध्यमबाट समाजमा आफ्नो उपस्थिति जनाइरहन्छ। प्रतिष्ठाको खेलमा हिँडिरहन्छ।
साँच्चै अहिले त्यो ट्राफिक के बेच्दै छ? मनमा यस्तो अनुत्तरित प्रश्न उब्जियो।
अहिले म दरबारमार्गको कुनै व्यापारिक भवनको तेस्रो तल्लामा छु। म यहाँको सामान्य कारिन्दा हुँ। मेरो अफिसबाट कम्तीमा ५० मिटरको दूरीमा रहेको एक ट्राफिक सिटी बजाउँदै छ।
घटना दरबारमार्गको हो।
दिनहुँ हजारौं सवारीसाधनको आवतजावत, पाँचतारे होटल, ठूल्ठूला महलहरु, ट्राभल एजेन्सीहरु बैंकहरु, दोहोरी साँझ, डान्सबार, यसमाथि नेपालको शाही खान्दानको चिनारीको रुपमा रहेको नारायणहिटी दरबारले यस क्षेत्रको महत्व बढाएको छ। देशी-विदेशी पर्यटकको चहलपहलले दरबारमार्ग क्षेत्र दिनरात जागा रहन्छ। सदा सक्रिय रहनु यो ठाउँको विशेषता हो।
महेन्द्रको सालिक छेउमा सिटी बजाउँदै गरेको ट्राफिक मेरो आँखामा पर्यो। सेतो टोपी, टाई, सफाचट नीलो सर्ट, नीलो पाइन्ट। ऊ कुनै नायकभन्दा कम लाग्दैन।
ट्राफिक पनि नायक हो समाजको। (नायकहरु फिल्ममा मात्र कहाँ हुन्छन् र !)
सुतेकालाई हरेक दिन ऊ सिटीको माध्यमबाट उठाउँछ। जो उठ्न मान्दैन, सोच्नुस् ऊ सदाको लागि निदाउँछ। हरेक मान्छेलाई सकुशल गन्तव्यमा पुर्याउन ऊ जस्ता हजारौं ट्राफिकको भूमिका महत्वपूर्ण छ।
म उसको क्रियाकलाप हेर्दै छु। हातको इसाराले एकोहोरो सवारी जामलाई खुलाउने प्रयास गर्दै छ। उसको ओठमा मुस्कान टुटेको छैन। सायद उसको मुस्कानबाट प्रभावित भएर सरकारले मुस्कानसहितको सेवा भन्ने कार्यक्रम ल्याएको हुँदो हो।
उसले सिटी बजाउँदा यस्तो लाग्छ, उसले ध्वनि बेचेको छ। मन न हो, के-के सोच्छ-सोच्छ।
म उसलाई एकोहोरो हेर्छु।
ऊ आफ्नै काममा मस्त छ । हरेक दिन उही घटना दोहोरिरहन्छ। म हाकिमको आँखा छलेर उसलाई हेर्छु। मनमा यस्तो पनि लोभ बढ्छ, उसले पनि हेरिदियोस्। मेरो चाहना यति छिटै पूरा हुने छाँटकाँट छैन । सबै म जस्ता कामचोर कहाँ हुन्छन् र! ऊ आफ्नो काममा लगनशील छ।
कसो-कसो एकदिन उसको र मेरो आँखा आपसमा ठोक्किए। उसको अनुहारमा कुनै भाव देखा परेन।
(उसको अनुहार यति निचोरिएको छ, मानौं त्यहाँ ठूलो ब्रजपात भएको छ!)
र पनि मलाई कुनै गुनासो छैन । नजर जुध्दा यस्तो लाग्यो, मेरो वर्षौंको प्रार्थना पूरा भयो।
सधै झैं म अफिस पुगेँ। उही झ्यालबाट उसलाई हेर्न थालेँ, उसले पनि कसो-कसो मलाई हेर्न थालेको महसुस भयो।
केही दिनको नजर हानाहानको उपलब्धि- ऊ मलाई देख्दा मुस्कान छोड्न थालेको छ। हामीले हाम्रो भाषा मुस्कान बनायौं। संसारमा मुस्कानको भाषा पनि एक अलौकिक सिर्जना हो।
शब्दको जरुरत हामीलाई परेन। यसलाई अझ यसरी बुझौं, हामीले बोल्ने अवसर नै पाएनौं। यो कुरालाई यतै कतै मिल्काइदिऔं।
हामीबीच यति राम्रो दोस्ती भएको थियो, मानौं हाम्रो चिनजान वर्षौं पुरानो हो। मुस्कानको हानाहानले यति भन्न सक्ने क्षमता मभित्र कसरी आइपुग्यो कुन्नि !
ऊ मेरो नयाँ साथी बन्यो। यसरी बुझ्दा गज्जब !
ऊ कुन भूगोलबाट आएको हुँदो हो?
उसले मेरो बारेमा के सोच्दो हो?
उसले गरेको कामप्रति उसकी आमाले के सोच्दी हुन्?
गाउँमा भन्दी हुन्, मेरो छोरोले देशको सेवा गर्छ। यसो भन्दा उसकी आमाको शिर ठाडो हुँदो हो। छोरो देशको कुनै भूगोलमा कसैकी आमालाई सहयोग गर्दै होला भनेर सम्झिँदा पनि यस्सै ग्यास्ट्रिकसँग लड्ने साहस पलाउँदो हो। आफ्नो छोराप्रति गर्व गर्ने अवसर सबै आमाले कहाँ पाउँछन् र!
भर्खर उसले कुनै एक बूढी आमालाई डोर्याएर बाटो कटाएको छ।
फेसबुके चर्चा कमाउने अहिलेको युगमा चर्चाको भोको कुनै साधारण मनुखेले ती बूढी आमालाई बाटो कटाउँदो हो त फेसबुकमा सेल्फीसहित पोस्टिहाल्थ्यो।
उनले बूढी आमैलाई आफ्नो धर्म सोचेर बाटो कटाए। फिलिङ खुसी!
तर त्यो ट्राफिकले ... ...?
सायद उसले यो काममा धर्मभन्दा धेरै आफ्नो कर्त्तव्य सम्झिन्छ। उस्सै पनि ट्राफिक पेशा सामान्य कहाँ हो र ?
साथीहरु गुनासो गर्छन्- यी मुला ट्राफिकहरु जनता लुट्न बसेका हुन्छन्!
हामी आफूबाट गल्ती भएको कहिल्यै महसुस गर्दैनौ। यो मानवीय प्रवृत्ति हो।
पैसाका लागि मरिहत्ते नै गर्ने भए इपिएसबाट कोरिया जान सक्ने विकल्प छ। नत्र हामी नेपालीहरुका लागि खाडी जिन्दावाद !
कस्मेटिक जवाफ- 'देश लुट्ने काम त सेतो सर्टमा कालो कोट लगाउनेहरुले गरेका छन्। ट्राफिकलाई यस्सै दोष !'
बिचरा ट्राफिकहरु! सेता सर्टधारीले बनाएको नियममा चल्ने मात्र त हुन् ट्राफिकहरू । नियम-कानुन अँगाल्दा कहिलेकाहीँ मानवीयता भन्ने चिज कहीँ-कतै चुक्ने सम्भावना चाहिँ रहन्छ, ट्राफिक जवानहरुमा।
उसो त अचेल देशको नियम र कानुनबारे मेरो आफ्नै टिप्पणी छ।
नियम जनतालाई अनुशासित, सहज तथा न्यायपूर्ण तरिकाले जीवनयापन गरुन् भनेर बनाइन्छ। तर, हाम्रो देशमा ट्राफिक नियम मान्ने फुर्सद कसलाई?
जनता पैसा तिर्न कुनै हिच्किचाहट गर्दैन, यस कारण ट्राफिक नियम मान्दैनन्। मान्नु पनि किन! हामी त वीर गोर्खालीको विरासत बाँचेका छौं! आजसम्म कुनै झ्यासको उपनिवेशमा नबसेका हामी यस्ता जाबो ट्राफिक नियमको अन्डरमा बस्नु हामी नेपालीको धर्मले कहाँ दिन्छ र? देशमा जति ठूला क्रान्ति होस्, जतिसुकै ठूलो परिवर्तन आओस्!
जबसम्म जनताको चेतनाको स्तर उकासिँदैन, तबसम्म नियमको औचित्य पैसा कमाउने खेलमा सीमित रहन्छ। चेतना कसैले सिकाएर सिकिने चिज हो जस्तो लाग्दैन। त्यो त अन्तर मनबाट स्वत: प्रस्फुटित हुने कुरा हो।
दुई-चार दिन भो, त्यो ट्राफिक देखिन छाड्यो। नयाँ ट्राफिकको आगमन भएको छ।
ऋतु फेरिन नपाउँदै ट्राफिक फेरियो। दिनहरु यस्सै बेचैन हुन थाले। कहाँ गयो ऊ? सोची बसेँ।
धेरै दिन उसको अनुपस्थितिपछि एकदिन नयाँ ट्राफिकलाई सोध्न गएँ- 'यो भन्दा अगाडिको ट्राफिक साहेब कहाँ जानु भो?'
'खै हजुर मेरो नयाँ पोस्टिङ हो', उसले यो भन्दा धेरै बोलेन।
मलाई अरु जवाफको आवश्यकता परेन।
त्यो दिनदेखि मुस्कानको भाषाले सदा-सदाका लागि विश्राम लियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।