काठमाडौं– उच्च अदातलमा सिफारिस भएका १८ न्यायाधीशको सपथ खुवाउने तयारी गरिएको छ। उच्च अदालतमा सिफारिस भएकामध्ये केही न्यायाधीशहरुको नाममा विवाद तीब्र हुन थालेपछि उनीहरुलाई सर्वोच्चमा सपथ खुवाउन लागिएको हो।
न्याय परिषद्ले गत मंगलबार विभिन्न उच्च अदालतका लागि १७ जना हाल र एक जना बैसाखदेखि नियुक्त हुने गरी नाम सिफारिस गरेको थियो। परिषद्ले न्याय, कानुन र कानुन व्यवसायीबाट योग्यता पुगेका १८ जनाको नाम सिफारिस गरेको थियो। सिफारिस गरिएकामध्ये एक न्यायाधीशको कार्यकाल बैसाखदेखि हुने परिषद्को निर्णयमा उल्लेख थियो।
उनीहरुलाई मुख्य न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई साक्षी राखेर सपथ खुवाउने कार्यक्रम छ। सपथ बुधबार मध्यान्ह १२ बजेका लागि ताेकिएकाे सर्वाेच्च स्राेतले जनायाे।
परिषद्ले न्याय सेवाबाट किरण पौडेल, महेन्द्रनाथ उपाध्याय र रमेश ढकालको नाम सिफारिस गरेको थियो भने पूर्व अतिरिक्त न्यायाधीशबाट निलम पौडेललाई छानेकाे थियाे। जिल्ला न्यायाधीशबाट राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, माेहम्मद जुनेद आजात, बालमुकुन्द दवाडी र नागेन्द्र लाभ कर्णको नाम सिफारिस गरिएको थियो।
त्यस्तै कानुन व्यवसायीबाट जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालबहादुर खड्का, उज्ज्वल शुक्ल र नवराज थपलियाको नाम परिषद्ले सिफारिस गरेको थियो। अधिवक्ता अञ्जु उप्रेती ढकाललाई बैसाख ३ गतेदेखि विराटनगरका न्यायाधीश उमेशराज पौडेलको अवकाशपछि नियुक्त गर्ने गरी सिफारिस गरिएको थियो।
सिफारिस भएकाहरुको सोही दिन नै पदस्थापन गरिएको थियो। सिफारिस भएका अधिकांश न्यायाधीशको नाममा विवाद देखिएपछि चौतर्फीरुपमा न्यायाधीश नियुक्तीको विरोध हुँदै आएको छ। परिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सिफारिसमा यसअघि कारबाहीका लागि सिफारिस भएका न्यायाधीशको नाममा समेत सहमति गरेको भन्दै आलोचना हुने गरेको छ।
५ जिल्ला न्यायाधीशलाई परिषद्ले पनि न्यायाधीशको रुपमा असक्षम भएको भनि कारबाहीको सिफारिस गरेको थियो। उक्त सिफारिसलाई थप अध्ययन नगरी केही समय पहिले तामेलीमा राख्दै सिफारिस गरिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।