काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बैंक ग्यारेन्टी पेस गरी सडक स्तरोन्नतिको रकम भुक्तानी लिने ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरुले मिलेमतोमा करिब साढे ६ करोडको सडक निर्माण नगरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले भोजपुर जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख लालु गिरि र एमके बाई पी जेभीका प्रतिनिधिसहितलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

जिल्ला प्राविधिक कार्यालय, भोजपुरले स्तरोन्नति कार्यक्रमअन्तर्गत भोजपुर–टक्सार–कोट–गगन–लेखर्क सडक स्तरोन्नति गर्न ठेक्का पाएका उनीहरुले कामै नगरी नक्कली बैंक ग्यारेटी खडा गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपमा उल्लेख छ।
अख्तियारले जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख गिरि, लेखापाल रामबहादुर दहाल र कृषि विकास बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकालविरुद्ध जनही १ करोड १० लाख ८० हजार विगो माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यसैगरी, एम के निर्माण सेवाका प्रबन्ध निर्देशक माधवप्रसाद खनाल, बाई पी कन्स्ट्रक्सनका राजु श्रेष्ठलाई पनि जनही १ करोड १० लाख ८० हजार असुल हुुनुपर्ने दाबी गरिएको छ। त्यस्तै एमके जेभीका प्रतिनिधि रणधीर तुम्बा र देवजङ्ग शाहीलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुलाई क्रमश ५५ लाख ३० हजार ५५ लाख ५ हजार विगो दाबी गरिएको छ।
अख्तियारले जनही पाँच वर्ष कैद र बिगो अनुसार जरिवाना गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।