राजविराज– सेवाग्राहीसँग ४० हजार घुस लिएको आरोपमा नायव सुब्वा वासुदेव मण्डल पक्राउ परेको भोलिपल्टै प्रदेश २ सरकारका एक मन्त्रीले राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा छड्के निरीक्षण गरेका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह मंगलवार कार्यालयमा छड्के गर्न पुगेका हुन्। उनले मालपोत कार्यालयको रजिष्ट्रेसन फाँटसहित अन्य विभिन्न फाँटको निरिक्षणपछि सेवाग्राहीलाई सहज सेवा दिने विषयमा कर्मचारीलाई निर्देशन दिए। पैसा माग्ने तथा फाइल अल्झाएर जनतालाई दुःख दिने कुरा कदापि स्विकार्य नहुने भन्दै मन्त्री साहले कर्मचारीहरुको निगरानी गर्न तथा अराजकता र अनियमितता नियन्त्रण गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए।
मालपोत कार्यालयमा नजराना (घुस) बुझाएपछि मात्रै काम हुने र हाक्काहाक्की पैसा मागेर सेवाग्राहीलाई दुःख दिने गरेको सुनेपछि आफू निरीक्षणमा आएको साहले जानकारी दिए।
सेवाग्राहीको गुनासो
गृह जिल्लाका मन्त्री निरीक्षणमा पुगेपछि मालपोत कार्यालयमा सेवाग्राहीको भिड लागेको थियो। कार्यालयको अस्तब्यस्त अवस्था सुधार गर्न र जनताको काम सहज रुपमा सम्पन्न गर्ने वातावरण बनाउन उनीहरुले माग गरे।
दुई महिनाअघिसम्म दैनिक ३ सयभन्दा बढी लिखत रजिष्ट्रेसन हुँदै आएको मालपोत कार्यालयमा हाल दैनिक ५० वटा मात्रै रजिष्ट्रेसन पास हुँदा सेवाग्राही थपिँदै जान थालेको भन्दै अनलाइन प्रणाली हटाउन उनीहरुले मन्त्रीको ध्यानाकर्षण गराएका छन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले गत माघ १८ गते मालपोत कार्यालयमा अनलाइन सेवा सुरु गरेका थिए। सेवाग्राहीको काम सहज बनाउन सुरु गरेको अनलाइन प्रक्रियाले झन् जटिलता थपेको उनीहरुको भनाइ छ।
कर्मचारी अभाव र सिस्टमको दोष देखाएर सामान्य काममा पनि पैसा माग्ने गरेको तथा पैसा नदिए फाइल अड्काएर राख्ने गरेको सेवाग्राहीले गुनासो गरे।
कार्यालय सहयोगी र ड्राइभरका भरमा चल्दैछन् फाँट
सेवाग्राहीको गुनासोपछि निर्देशन दिन पुगेका मन्त्रीलाई आवश्यकता अनुसार कर्मचारीको नहुँदा कार्यालय अस्तब्यस्त भएको कार्यालय प्रमुख सिकिन्द्रप्रसाद साहले जानकारी गराए।
‘कार्यालयमा कर्मचारी छैनन्, वर्षौंदेखिका फाइल पेन्डिङमा परेका छन्,’ उनले मन्त्रीसँग हात जोड्दै भने, ‘सके कर्मचारी दिनोस्, नसके मेरो सरुवा गर्दिनोस्। यस्तो अवस्थामा म काम गर्न सक्दिनँ।’ कार्यालय सहयोगी र ड्राइभरलाई राखेर फाँट सञ्चालन गरिरहेको उनले लाचारी सुनाए।

‘नियमले यस्तो गर्नु गलत हो, तर मसँग अर्को विकल्प छैन,’ उनले थपे, ‘भएका कर्मचारीलाई काममा नलगाए फाँट बन्द गर्नुपर्ने अवस्था आउँछ, जनताले झनै दुःख पाउँछन्।’
कर्मचारीले सेवाग्राहीसँग पैसा मागेको र दुःख दिएको कुरा आफूले पुष्टि गर्न नसक्ने प्रमुख साहले बताए। ‘माग्छन् भनेर भन्न र माग्दैनन् भनेर ग्यारेन्टी गर्न म सक्दिनँ,’ उनले भने, ‘माग्नेहरु आफै सजायको भागीदार बन्छन्। म आएपछि नै ३ जना कर्मचारी पक्राउ परिसके, पैसा लिएरै पक्राउ परे होलान्।’
कर्मचारी अभावले कामकाज प्रभावित
भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले जिल्लाका साबिकका ८१ वटा गाविसवासीलाई सेवा दिँदै आएको छ। १ सय १३ गाविसमध्ये २२ गाविसको काम कञ्चनपुरस्थित कार्यालयबाट हुँदै आए पनि अन्य सबै गाविसको काम राजविराजबाटै हुन्छ।
कामको चाप तथा दरबन्दी अनुसार कर्मचारी नहुँदा कामकाज प्रभावित भएको साहले जानकारी दिए। ‘एउटा फाँटमा बसे अर्को खाली हुन्छ, अर्कोमा बसे अर्को,’ उनले थपे, ‘कर्मचारी नै नभएपछि कसले काम गर्ने?’
मालपोत कार्यालयमा १ उपसचिव (प्रमुख मालपोत अधिकृत), २ मालपोत अधिकृत र १ शाखा अधिकृतसहित ४२ जनाको दरबन्दी छ। तर, मालपोत अधिकृत र शाखा अधिकृतको दरबन्दी खाली छ।
यसैगरी, कार्यालयमा ९ नायवसुब्बा र १६ जना खरिदारको दरबन्दीमध्ये ५ जना नासु र ३ जना खरिदार कार्यरत छन्। अरु दरबन्दी खाली छ। १० जना कार्यालय सहयोगी, १ सवारी चालक र २ जना अपरेटरसहितका उपलब्ध कर्मचारीबाट कार्यालयको काम सञ्चालन भइरहेको कार्यालय प्रमुख साहले बताए।

कर्मचारी व्यवस्थापन गर्ने मन्त्रीको आश्वासन
कार्यालयको निरीक्षण तथा कर्मचारीसँग बातचित गरेर निस्केका मन्त्री साहले कार्यालयको अवस्था अस्तब्यस्त रहेको बताए। ‘सेवाग्राही तँछाडमँछाड छ, अवस्था भद्रगोल छ,’ उनले भने, ‘कर्मचारी समायोजन हुन नसकेका कारण कर्मचारी अभाव देखिएकाले यस विषयमा तत्कालै संघीय सरकारसँग कुरा गर्छु।’
अनलाइन प्रणालीले पनि काममा समस्या उत्पन्न गरेको पाइएको बताउँदै कर्मचारी कम र सिस्टमको बहाना वनाएर भएका कर्मचारीहरु सेवाग्राहीसँग पैसाको बार्गेनिङ गरिरहेका आफ्नो जानकारीमा रहेको उनले बताए। ‘समस्यालाई समाधान गर्ने र सहज रुपमा काम गर्नुपर्ने हो, तर, त्यही समस्यालाई कर्मचारीले कमाउने माध्यम बनाएको सुनेको छु,’ उनले भने।
मालपोत कार्यालय संघीय सरकार मातहत रहेको र कर्मचारी समेतको ब्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएकाले यस विषयमा संघीय सरकारसँग कुरा गरी तत्काल कर्मचारी खटाउन र सिस्टममा देखिएको समस्या समाधानका लागि आग्रह गर्ने उनले प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।