गौशाला- महोत्तरीको गौशाला नगरपालिका–८ स्थित जंगलमा बुधबार साँझ नेपाली सेनाका एक जवान बेहोस अवस्थामा फेला परेका छन्।
महोत्तरीको बेलगाछी–८ भन्टाबारी घर भएका २५ वर्षीय सेनाका जवान विजयकुमार महतो बेहोस अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका निरीक्षक शम्भु पोखरेलले बताए। गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा महतो फेला परेका हुन्। उनी सर्लाहीको नवलपुरस्थित पाँचकुमारी नेपाली सेना ब्यारेकमा कार्यरत छन्।
केही बोल्न नसक्ने गरी बेहोस भएका महतोलाई प्रहरीले बर्दिबासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पठाएको छ।
शुक्रबार आफू कार्यरत ब्यारेकबाट दुई दिनको छुट्टीमा घर आएका महतो आइतबार बिहान खाना खाएपछि ब्यारेक फर्किएका थिए तर पुग्न सकेनन्।
मंगलबार उनी कार्यरत ब्यारेकबाट फिर्ता नआएको भन्दै परिवारजनलाई खबर भएपछि परिवारले मंगलबार बेलुका नै इलाका प्रहरी कार्यालय, गौशालामा हिँडिसकेको खबर गरेका थिए। मंगलबार रातिदेखि जवान महतोको खोजीमा परिवारजन, छिमेकी र प्रहरीसहितको टोली खटिएको थियो।
टोलीले बुधबार अबेर साँझ मात्रै जवान महतोलाई जंगलमा रहेको खोल्साको बालुवामा भासिएको अवस्थामा फेला पारेको थियो।
महतोको कसैले कुटपिट गरी हत्या गर्ने प्रयास गरेको हुन सक्ने प्रहरीले अनुमान रहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।