काठमाडाैं- मगलबार बिहानदेखि काठमाडाैं उपत्यकासहित देशका विभिन्न भू-भागमा वर्षा भइरहेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार मगलबार पूर्वी र मध्य भू-भागमा सामान्य बदली र पश्चिमि भू-भागमा आंशिक बदली हुनेछ। केही स्थानमा भने मेघ गर्जनसहित वर्षाको सम्भावनासमेत रहेकाे महाशाखाले जनाएकाे छ।
पूर्वी र मध्य तराईका केही स्थानहरुमा हुरि बतास चल्ने तथा उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
मंगलबार रातिसम्मै याे अवस्था रहने महाशाखाकाे अनुमान छ। बुधबार भने देशका प्रायः स्थानहरुमा मौसम सामान्यतया सफा रहने तथापि अपरान्हपश्चात् सामान्य बदली भई मेघ गर्जनसहित हल्का वर्षा हुनेछ।
बुधबार खुलेकाे माैसम बिहीबार पुनः बदली हुने आँकलन गरिएकाे छ। बिहीबार देशका पूर्वी र मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएकाे छ। महाशाखाबाट जारी ३ दिने 'वेदर अपडेट'मा भनिएको छ, 'केही स्थानमा भने मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ।'
माैसममा बदली भई वर्षा तथा हावाहुरी चल्न थालेपछि गहुँलगायतका नगदेबाली थन्क्याउन तयारीमा रहेका किसानहरुलाई भने समस्या परेकाे छ। विशेषगरी दुई बाली धान हुने तराई क्षेत्रमा भने वर्षाले किसानलाई राहत दिएकाे छ। याे समय चैते धान लगाउने समय हाे। कतिपय स्थानमा भने चैते धान राेपिसकिएकाे छ।
अर्कातर्फ वर्षा भएसँगै गर्मी बढ्ने माैसमविद्ले जनाएका छन्। पछिल्लाे २४ घण्टामा पूर्वीभन्दा पश्चिम क्षेत्रमा बढी वर्षा भएकाे छ। महाशाखाका अनुसार बिरेन्द्रनगरमा सर्वाधिक ९ दशमलब ९ मिलिमिटर वर्षा भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।