विराटनगर- मोरङमा प्रतिनिधिसभा र प्रदेशसभामा उठेका १६९ उम्मेदवारमध्ये ११ जना मात्रै महिला छन्।
६ वटा संसदीय क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन महिला मात्र चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभाका लागि ६१ जना उम्मेदवार चुनावी मैदानमा रहेको मोरङमा महिला उम्मेदवारको संख्या तीन छ भने प्रदेशसभातर्फ आठ जना महिला छन्।
६ वटा निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २, ५ र ६ बाट मात्र महिला उठेको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ।
तीमध्ये मोरङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारको रुपमा कल्पना विमली उठेकी छिन्। सो क्षेत्रका १२ उम्मेदवारमध्ये उनी एकमात्र महिला हुन्।
त्यस्तै, क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारको रुपमा अनिताकुमारी ढकाल देखिएकी छिन्। सो क्षेत्रबाट सात जना चुनावी प्रतिस्पर्धामा छन्।
क्षेत्र नम्बर ६ बाट चुनावी मैदानमा १० जना रहेकोमा नयाँशक्ति पार्टीले मात्र महिला उम्मेदवार उठाएको छ। सो पार्टीबाट विमला अर्याल चुनावी मैदानमा छिन्।
प्रदेश सभाअन्तर्गत १२ वटा क्षेत्र रहेको मोरङमा आठ महिला चुनावी प्रतिस्पर्धामा छन्।
क्षेत्र नम्बर १ ‘क’बाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलकुमारी लावती र ‘ख’ बाट राजपाका शशी राई छिन् भने क्षेत्र नम्बर २ ‘ख’ बाट एकीकृत राप्रपा (राष्ट्रवादी) बाट गोमा कार्की चुनावी प्रतिस्पर्धामा छिन्। क्षेत्र नम्बर ३ ‘क’बाट माओवादी केन्द्रका गीता तिम्सिना र क्षेत्र नम्बर ४ ‘क’ बाट एकीकृत राप्रपा (राष्ट्रवादी) का रुपादेवी राजवंशी छिन्।
यस्तै, क्षेत्र नम्बर ५ ‘ख’बाट स्वतन्त्र रुपमा जसवी मण्डल पनि निर्वाचनमा होमिएकी छिन्। क्षेत्र नम्बर ६ ‘क’ बाट संघीय समाजवादी फोरमबाट नीरा भगत र ‘ख’ बाट मंगोल नेसनल अर्गनाइजेसनबाट लालकुमारी राई चुनावी प्रतिस्पर्धामा छिन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।