राजविराज– राजविराजस्थित सिँचाई कार्यालयमा तालाबन्दी गर्न आएका दुई मेयरसहित १ दर्जन जनप्रतिनिधिलाई आईतबार प्रहरीले धक्का दिएर कार्यालयबाट निकालेको छ। कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न खोजेपछि जनप्रतिनिधि र प्रहरीबीच धक्काधक्की भएको थियो।
डिभिजन प्रमुखले मनोमानी गरेको आरोप लगाउँदै बोदेबरसाईन नगरपालिकाका मेयर आतिसकुमार सिंह यादव र खडक नगरपालिकाका मेयर हेमायु हकसहित वडाअध्यक्ष लगायतका जनप्रतिनिधि जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए। प्रहरीको धक्कामुक्की र अवरोधपछि जनप्रतिनिधिहरू फर्केका छन्।

संघीय सरकार तथा प्रदेश सरकारले सिँचाई तथा नदी नियन्त्रणका लागि छुट्याएको बजेटमा डिभिजन कार्यालयले मनोमानी गरेको मेयर आतिशले बताए। खडक र बिहुल नदी नियन्त्रणका लागि ४÷४ करोड बजेट आएको जानकारीमा आएपनि त्यो विषय गुपचुपमै राखेर डिभिजन प्रमुखले भ्रष्टाचारको नाङ्गो नाच देखाईरहेको उनको आरोप छ।
आफनो नगरपालिका क्षेत्रभित्र संचालन भइरहेको योजनाका विषयमा कार्यालयले जानकारी नदिएको र योजनाको विवरण माग गर्दा पनि उपलब्ध नगराएको उनले गुनासो गरे। ‘एक महिनादेखि नदी नियन्त्रणको काम चलिरहेको छ, हामीलाई जानकारीसम्म दिइएको छैन,’ उनले भने, ‘सम्बन्धित वडा वा नगरपालिकाको सिफारिसमा उपभोक्ता समिति गठन गर्नुपर्नेमा त्यसको बारेमा जानकारी समेत नदिनु घोर अराजकता हो।’

नगरपालिकाले १५ दिनअघि लिखित रूपमा योजनाको जानकारी माग्दा डिभिजन प्रमुखले नदिएको र भेट गर्न खोज्दा समेत भागी–भागी हिडेको उनको आरोप छ।
जनप्रतिनिधि कार्यालयमै तालाबन्दी गर्न आउँदासमेत डिभिजन प्रमुख राजकुमार खंग भने सम्पर्कमा आएनन्। कार्यालयका इन्जिनियर बद्रिनारायण साहले कार्यालय प्रमुखको निर्देशन बिना कुनै पनि योजनाको जानकारी दिन नसक्ने बताउँदै स्थानीय तहसँग समन्वय वा उसकै मातहतमा रहेर काम गर्नुपर्ने बाध्यकारी व्यवस्था नभएको जनाए।
‘हामीले सकेसम्म समन्वय गर्ने प्रयास गरिरहेका छौं, तर हरेक कुरा बताउनै पर्छ भनेर हामीलाई निर्देशन छैन’ साहले भने, ‘यदि त्यस्तो निर्देशन आयो भने सोही अनुसार गछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।